जुटको मूल्य र माग बढेपछि किसान उत्साहित
सुनसरी, २ भदौ ।
जुटको मूल्य वृद्धि र उद्योगबाट माग बढेपछि सुनसरीमा किसान जुटखेतीतर्फ आकर्षित भएका छन् । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष जुटखेतीको क्षेत्रफलसमेत बढेको छ ।
कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा एक हजार ३०८ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएकोमा चालु आर्थिक वर्षमा बढेर एक हजार ३३४ हेक्टर पुगेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गर्नुभएको छ । उहाँले वार्षिक १५ देखि २० क्विन्टलसम्म जुट उत्पादन गरी दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । उत्पादित जुट बिक्रीका लागि बजारको समस्या नरहेको र स्थानीय व्यापारीले खेतमै पुगेर खरिद गर्ने गरेको उहाँले बताउनुभएको छ ।
देवानगञ्जका किसान वीरेन्द्र मण्डलका अनुसार अहिले प्रतिमन पाँच हजार पाँच सय रुपैयाँसम्ममा जुट बिक्री भइरहेको छ । जुटखेतीमा श्रम धेरै लागे पनि मूल्य राम्रो भएकाले आम्दानी सन्तोषजनक रहेको किसानको भनाइ छ ।
जुटको रेसा निकाल्ने कामले स्थानीय मजदुरलाई समेत रोजगारी दिएको छ । देवानगञ्जका रमेश यादवले दैनिक बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म काम गरेर ६ सय रुपैयाँ ज्याला पाउने गरेको बताउनुभएको छ ।
जुट अनुसन्धान केन्द्र इटहरीले किसानलाई बीउ, प्राविधिक सहयोग तथा झारपात नियन्त्रण र रेसा निकाल्ने प्रविधिमा सहयोग गर्दै आएको जनाएको छ । स्थानीय उत्पादन बढ्दै गएपछि विगतमा भारत र बङ्गलादेशबाट ठूलो परिमाणमा आयात हुँदै आएको कच्चा जुटको आयातसमेत घट्न थालेको केन्द्रको भनाइ छ ।
सुनसरीका देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी, हरिनगर र इनरुवालगायत क्षेत्रमा व्यावसायिक रूपमा जुटखेती हुँदै आएको छ । सरकारी सहयोग र प्रोत्साहन थप भए आगामी वर्ष उत्पादन अझ बढ्ने केन्द्रले जनाएको छ । ०००००











प्रतिकृया दिनुहोस