संविधान संशोधनमा प्रतिनिधिसभाको दुई तिहाइ मात्रै पर्याप्त हुँदैन : सभापति रवि लामिछाने

काठमाडौँ, ४ भदौ । 
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुग्दैमा संविधान संशोधनका लागि पर्याप्त नहुने बताउनुभएको छ ।
आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा धारणा राख्दै लामिछानेले रास्वपाका सांसदलाई संविधान संशोधनको विषय उठाउँदा संवेदनशीलता र संवैधानिक व्यवस्थालाई ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ मात्रै पर्याप्त नहुने भन्दै तथ्य, कानुन र संविधानलाई ध्यानमा राखेर विषय उठाउनुपर्ने बताउनुभयो । सरकारले राम्रो काम गर्दा सहयोग गर्ने विषयमा भने आफू सकारात्मक रहेको उहाँको भनाइ छ ।
सभापति लामिछानेले अहिले संविधानमा रहेको व्यवस्थालाई स्वीकार गर्दै जनताको म्यान्डेट पूरा गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संवैधानिक निकाय र तिनका नेतृत्वमाथि सांसदहरूले अत्यधिक आरोप लगाउँदा संस्थाको मानमर्दन हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । आफू कुनै व्यक्तिको पक्ष वा विपक्षमा नभई संस्थाको गरिमा जोगाउने पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउँदै गए त्यसले अन्ततः लोकतन्त्र र समग्र प्रणालीलाई नै कमजोर बनाउने सभापति लामिछानेको भनाइ छ ।
उहाँले व्यक्तिगत रिस र असन्तुष्टिका कारण लोकतन्त्रका आधारभूत संस्थालाई कमजोर पार्ने प्रयास नगर्न आग्रह गर्दै संविधान संशोधन गर्दा सके नयाँ इँटा थप्ने र नसके विद्यमान व्यवस्थालाई क्षयीकरण हुन नदिने गरी समाधान खोज्नुपर्ने बताउनुभयो । ००००००

प्रतिकृया दिनुहोस