इलामको राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध
विर्तामोड, ५ भदौ ।
वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका सडक प्रभावित भएका छन् ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ ।
इलामको राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको कोदारी र लिपिङमा पहिरो तथा सडक भासिएपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ ।
रसुवाको खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक अवरुद्ध भएको छ । स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडकसमेत बन्द भएको प्रहरीले जनाएको छ ।
यस्तै, रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडक, लमजुङको बेँसीसहर–मनाङ सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन् ।
प्रहरीले अवरुद्ध सडक तथा पहिरो र बाढीको जोखिम भएका क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न र आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । ००००








प्रतिकृया दिनुहोस