प्रधानमन्त्रीका पछिल्लो एक सातामा भएका मुख्य काम र उपलब्धि सार्वजनिक 

काठमाडौँ, ५ भदौ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा भएका मुख्य काम र उपलब्धि सार्वजनिक गरेको छ । नियमित साप्ताहिक मिडिया ब्रिफिङमा कार्यालयका प्रवक्ता एवम् सहसचिव हेमराज अर्यालले सरकारका विभिन्न कार्यसम्पादनबारे जानकारी गराउनुभएको हो ।
सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति र मर्मतसम्भारलाई प्रभावकारी बनाउन ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३’ स्वीकृत गरेको छ । यस्तै, नीति अनुसन्धान प्रतिष्ठानले तयार गरेका आठ वटा प्रतिवेदन आन्तरिक तथा विज्ञ समीक्षाका लागि पठाइएको छ ।
नागरिकले तत्कालै अनुभूति गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मन्त्रालयबाट सञ्चालन गरिने ६५ वटा कार्यक्रमको अवधारणापत्रको मस्यौदा सबै मन्त्रालयलाई उपलब्ध गराइएको छ । सम्बन्धित मन्त्रालयले आवश्यक परिमार्जन गरी ती कार्यक्रम कार्यान्वयन गर्ने जनाइएको छ ।
यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्री तथा मुख्यसचिवले चालु आर्थिक वर्षका कार्यसम्पादन सूचक, मुख्य क्रियाकलाप र अनुगमन विधिसहित कार्यसम्पादन सम्झौता गर्नुभएको छ । सम्झौताको प्रधानमन्त्रीबाट नियमित अनुगमन गरिने कार्यालयले जनाएको छ ।
मलसम्बन्धी समस्याको अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिस गर्न प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा १२ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । साथै, सरकारी कार्यालयमा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिन परिपत्र जारी गरिएको छ ।
यसैबीच, राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ उपत्यकाका २९ वटा सरकारी निकायको अनुगमन गर्दा २५७ कर्मचारीले कार्यालय समय पालना नगरेको र ४५ जनाले तोकिएको पोशाक नलगाएको पाइएको जनाएको छ । उनीहरूमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य बीमा र निःशुल्क औषधिको खरिद तथा वितरणमा पारदर्शिता भए–नभएको विषयमा स्थलगत अनुगमन भइरहेको छ । सरकारी कार्यालयको आचारसंहिता अनुगमनका क्रममा १०० भन्दा बढी कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको र कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको कार्यालयले जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस