ढोरपाटनमा विदेशी सिकारीको आकर्षण
ढोरपाटन, ५ भदौ ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा विदेशी सिकारीको आकर्षण बढेको छ । गत आर्थिक वर्षमा विदेशी सिकारीले २१ नाउर र ११ झारलको सिकार गरेका छन् । सिकारका लागि प्रतिस्पर्धामार्फत उनीहरूले चार करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएका छन् ।
ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार हुने गर्छ । पहिलो चरण असोजदेखि मङ्सिरसम्म र दोस्रो चरण फागुनदेखि वैशाखसम्म सञ्चालन हुन्छ । पहिलो चरणमा ११ नाउर र आठ झारल तथा दोस्रो चरणमा १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको थियो ।
अनुमति पाएमध्ये पहिलो चरणमा आठ नाउर र पाँच झारल तथा दोस्रो चरणमा १३ नाउर र ६ झारलको मात्र सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । मौसम परिवर्तन, सिकारी बिरामी हुनु, गोलीगोठ्ठामा समस्या तथा निसाना चुक्नुलगायत कारणले केही वन्यजन्तुको सिकार हुन नसकेको हो ।
ढोरपाटनमा अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशबाट विदेशी सिकारी आउने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको सङ्ख्याका आधारमा हरेक वर्ष सिकारको कोटा निर्धारण गर्छ । आरक्षलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी सातवटा ब्लकमा विभाजन गरिएको छ ।
व्यावसायिक सिकार कम्पनीका प्रतिनिधिसहित विदेशी सिकारी हेलिकप्टरमार्फत आरक्ष पुग्ने गर्छन् । एक सिकारीले १५ दिनको सिकार अवधिमा हेलिकप्टर, सहयोगी, बन्दोबस्तीलगायत खर्चसमेत गरी करिब २० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ ।
विसं २०३९ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । हालसम्म नाउर र झारलको सिकारका लागि नेपाली सिकारीले भने प्रतिस्पर्धा नगरेको आरक्ष कार्यालयले जनाएको छ । ०००००









प्रतिकृया दिनुहोस