पुँजी बजार पुनरुत्थान कार्ययोजनाले निजी क्षेत्रको मनोबल बढाउने विश्वास
विर्तामोड, ३० भदौ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ले नेपालको पुँजी बजारलाई चलायमान बनाउँदै निजी क्षेत्रको मनोबल बढाउने विश्वास सरोकारवालाले व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ पुँजी बजार समितिका अध्यक्ष प्रियाराज रेग्मीले कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन भए पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँका अनुसार दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी पुँजीगत लाभकरमा गरिएको प्रस्तावित सुधारले लगानीकर्तामा उत्साह बढाएको छ ।
कार्ययोजनामा ३ सय ६५ दिनभन्दा बढी स्वामित्वमा रहेको शेयरबाट प्राप्त लाभमा ३ दशमलव ७५ प्रतिशत र ३ सय ६५ दिन वा सोभन्दा कम अवधिको लाभमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने प्रस्ताव गरिएको छ ।
नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले कार्ययोजनाले पुँजी बजारका धेरै समस्या सम्बोधन गरेको बताउनुभयो । उहाँका अनुसार नोक्सानीलाई समेत समायोजन गर्न पाउने व्यवस्था र गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश गराउने नीति सकारात्मक छन् ।
कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजार सुधार, संस्थागत लगानी विस्तार, ऋणपत्र बजार विकास, नेप्सेको पुनर्संरचना, नयाँ वित्तीय उपकरण विकास तथा बैंक तथा वित्तीय संस्थाको पुँजी बजारसम्बन्धी लगानीको पुनरवलोकनलगायत विषय समेटिएका छन् ।
यस्तै, म्युचुअल फन्डलाई दीर्घकालीन लगानीको आधार स्तम्भ बनाउने, धितोपत्र दलाल व्यवसायलाई आधुनिक र प्रविधिमैत्री बनाउने तथा मार्जिन लेन्डिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी र सर्ट सेलिङका लागि कानुनी आधार तयार गर्ने योजना पनि कार्ययोजनामा छ । ०००००








.jpeg)



प्रतिकृया दिनुहोस