धुलिखेलमा अन्तरराष्ट्रियस्तरको हक्की रङ्गशाला निर्माण हुने
काभ्रे, १६ असोज ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा अन्तरराष्ट्रियस्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ । धुलिखेल नगरपालिका र जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएसँगै वडा नम्बर ११ र १२ को सिमानामा पर्ने चिसापानी डाँडामा रङ्गशाला निर्माणको प्रक्रिया अघि बढेको हो ।
आर्थिक वर्ष २०८३/८४ मा राष्ट्रिय खेलकुद परिषद्मार्फत निर्माण कार्य अघि बढाउने गरी सङ्घीय सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । परियोजनाका लागि धुलिखेल नगरपालिकाले नेपाल हक्की सङ्घलाई ४० वर्षका लागि उपयोग गर्न अनुमति दिएको दुई सय रोपनी जग्गा उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
नगरपालिकाको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक नगरप्रमुख निरान्न जङ्गम र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
कार्यवाहक नगरप्रमुख जङ्गमले धुलिखेललाई खेलकुदमैत्री पालिकाका रूपमा विकास गर्ने लक्ष्यअनुसार रङ्गशाला निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले यसबाट स्थानीय युवालाई खेलकुदमा आकर्षित गर्नुका साथै पर्यटन र आर्थिक गतिविधिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्झौताअनुसार राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्दा जिल्ला खेलकुद विकास समितिले नगरपालिकासँग समन्वय गर्नेछ । प्रतियोगिता नभएको समयमा नगरपालिकाले अभ्यासका लागि मैदान प्रयोग गर्न पाउनेछ । विद्यालय तथा वडास्तरबाटै खेलाडी पहिचान, प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा समेत सहकार्य गरिनेछ ।
परियोजनाका लागि आवश्यक बजेट व्यवस्थापन तथा प्राविधिक सहयोगमा जिल्ला खेलकुद विकास समितिले सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ । रङ्गशाला निर्माणले नेपाली हक्की खेलको विकाससँगै धुलिखेललाई खेलकुद तथा पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । ०००००












प्रतिकृया दिनुहोस