प्रधानमन्त्री कार्यालयद्वारा पछिल्लो कार्यप्रगति सार्वजनिक

काठमाडौं, १६ असोज ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौदेखि असोज १६ गतेसम्म भएका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । सिंहदरबारमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले कार्यप्रगति सार्वजनिक गर्नुभएको हो ।
कार्यालयका अनुसार राष्ट्रिय योजना आयोगको नेतृत्वमा रसुवामा भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यकताको पहिचानको काम सम्पन्न भएको छ भने अहिले विपद्पछिको आवश्यकता मूल्याङ्कन भइरहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउनुभएको र असोज ९ गते सम्बोधन गर्नुभएको कार्यालयले जनाएको छ । सम्बोधनमा उहाँले भोटेकोशी बाढीबाट भएको क्षति र जलवायु सङ्कटलगायत विषय उठाउनुभएको थियो ।
दसैँ, तिहार र छठलाई लक्षित गर्दै सडक यातायात अवरुद्ध हुन नदिन तथा अत्यावश्यक सेवा नियमित सञ्चालनका लागि आवश्यक तयारी गर्न सचिवस्तरीय बैठकले निर्णय गरेको छ । चाडपर्वका बेला कालोबजारी, मूल्यवृद्धि र अनुचित व्यापार नियन्त्रणका लागि संयुक्त बजार अनुगमन प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ ।
सरकारी निर्णय प्रक्रिया सरल, पारदर्शी, समयबद्ध, कागजरहित र डिजिटल बनाउन सरकारले तयार गरेको नियमावली २०८३ असोज १२ गते नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १६ अर्ब २८ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ । त्यसमध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा भइसकेको कार्यालयले जनाएको छ ।
यसैबीच, हेलो सरकारमा चैत १३ गतेदेखि असोज १५ गतेसम्म ७७ हजार एक सय २८ वटा गुनासा प्राप्त भएकामा ३१ हजार दुई सय ८० वटा फछ्र्यौट र १७ हजार पाँच सय ३९ वटा समाधान भएका छन् । रसुवा बाढी, ग्यास अभाव, मलखाद, उपभोग्य वस्तुको अभाव, वैदेशिक रोजगारी, चालक अनुमतिपत्र र सडक अवरोधलगायत विषयमा चौबीसै घण्टा सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस