नेप्सेमा सूचीकृत ८९ करोड कित्ता सेयर अझै डिम्याट भएन
बिर्तामोड, १८ असोज ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत करिब ८९ करोड कित्ता सेयर अझै डिम्याट खातामा अद्यावधिक नभएको पाइएको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार नेप्सेमा सूचीकृत २० अर्ब ४३ करोड ५५ लाख कित्तामध्ये १९ अर्ब ५४ करोड ५३ लाख कित्ता मात्रै डिम्याट भएका छन् ।
बाँकी ८९ करोड दुई लाख कित्ता अर्थात् कुल सूचीकृत सेयरको चार दशमलव ३५ प्रतिशत सेयर अझै भौतिकरूपमै रहेको छ । विशेषगरी पुराना कम्पनीका सेयर, जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाले खरिद गरेका सेयर तथा लामो समयदेखि बजारबाट बाहिर रहेका लगानीकर्ताका सेयर डिम्याट हुन बाँकी रहेको जनाइएको छ । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सेयर प्रमाणपत्र हराउनु, नामसारी नहुनु, लगानीकर्ताले डिम्याट गर्न चासो नदिनु लगायतका कारण सेयर अद्यावधिक नभएको हुन सक्छ । डिम्याट विवरण अद्यावधिक नहुँदा कतिपय लगानीकर्ताको लाभांशसमेत रोकिएको छ । मर्जर तथा प्राप्तिपछि कम्पनी पहिचान गर्न नसक्नु, बैंक खाता नमिल्नु वा खाता निष्क्रिय हुनुलगायत कारणले पनि लाभांश नबुझेको हुन सक्ने जानकार बताउँछन् ।
सेयर बजारका जानकार रविन्द्र भट्टराईले लगानीकर्तालाई आफू र परिवारका सदस्यका नाममा रहेका पुराना सेयर तथा नबुझेको लाभांश खोजी गर्न सुझाव दिनुभएको छ । सम्बन्धित कम्पनी वा सेयर रजिस्ट्रारसँग सम्पर्क गरी आवश्यक कागजात बुझाएमा रोकिएको लाभांश प्राप्त गर्न सकिने उहाँले बताउनुभएको छ ।०००००











प्रतिकृया दिनुहोस