भैरहवा सेजबाट सात वर्षमा साढे चार अर्बको निर्यात
बिर्तामोड, १७ असोज ।
विशेष आर्थिक क्षेत्र अर्थात् सेजमा स्थापना भएका उद्योगले सात वर्षमा चार अर्ब ५० करोड ४२ लाख रुपैयाँ बराबरको सामान निर्यात गरेका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार भैरहवा सेजका उद्योगले आर्थिक वर्ष २०७६÷७७ देखि २०८२÷८३ सम्म उक्त मूल्य बराबरको सामान निर्यात गरेका हुन् ।
सो अवधिमा तीन अर्ब १८ करोड १९ लाख रुपैयाँ बराबरको उत्पादन भने आन्तरिक बजारमा खपत भएको छ । भैरहवा सेजबाट चुनढुङ्गा, बल्ब, कार्पेट, स्टिलका भाँडा, ट्याङ्की, प्लास्टिकका सामग्री, ग्रेनाइट र फर्नेस आयललगायतका सामान निर्यात हुने गरेका छन् । अधिकांश सामान भारत निर्यात हुने गरेको प्राधिकरणले जनाएको छ ।
आर्थिक वर्ष २०८२÷८३ मा मात्रै एक अर्ब तीन करोड १८ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । भैरहवा सेजमा २६ उद्योगले सञ्चालनको अनुमति लिएकामा १३ वटा सञ्चालनमा, ६ वटा निर्माणाधीन र सात वटा सम्झौताको प्रक्रियामा छन् । ती उद्योगमा ७५० जनाले रोजगारी पाएका छन् ।
सरकारले सातै प्रदेशमा सेज स्थापना गर्ने घोषणा गरे पनि हालसम्म भैरहवा सेज मात्रै पूर्णरूपमा सञ्चालनमा आएको छ । विराटनगर, गोरखा, कैलाली र नुवाकोटमा निर्माणसमेत सुरु नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच, निर्यातको अनिवार्य मापदण्ड पूरा नगरेपछि भैरहवा सेजभित्रको पञ्चकन्या एसएस एक्सपोर्ट प्रालिसँगको सम्झौता रद्द गरिएको प्राधिकरणले जनाएको छ ।











प्रतिकृया दिनुहोस