एन्फामा महासचिवको तोक आदेशपछि मात्रै खेल सामग्री खरिद हुने गरेको स्टोर प्रमुखको बयान
विर्तामोड, २५ असोज ।
निलम्बित अखिल नेपाल फुटबल सङ्घ एन्फाका स्टोर प्रमुख अच्युतराज घिमिरेले महासचिव किरण राईको तोक आदेशपछि मात्रै खेल सामग्री खरिद प्रक्रिया अघि बढ्ने गरेको बयान दिनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको छानबिन उपसमितिसमक्ष बयान दिँदै घिमिरेले राष्ट्रिय टोलीका लागि आवश्यक सामग्री खरिद गर्न स्टोर शाखाले पत्रमार्फत माग पेस गर्ने र महासचिवको तोक आदेशपछि मात्रै खरिद शाखामा पठाउने गरिएको बताउनुभएको हो ।
आठ वर्षदेखि एन्फाको स्टोर प्रमुखका रूपमा कार्यरत उहाँले खरिद भइसकेका सामग्रीको अभिलेख राख्ने तथा तोक आदेश र महासचिवको मौखिक निर्देशनअनुसार वितरण गर्ने जिम्मेवारी आफ्नो रहेको बताउनुभयो । तर, केल्मी ब्रान्डका सामग्री आपूर्ति गर्ने कामारु ट्रेडिङ प्रालिसँगको खरिद प्रक्रियाबारे आफूलाई जानकारी नभएको र त्यसबारे खरिद शाखालाई थाहा हुने उहाँको भनाइ छ ।
राखेपको तीन सदस्यीय छानबिन उपसमितिको प्रतिवेदनले एन्फामा खेल सामग्री खरिदका क्रममा कानुनी तथा वित्तीय अनियमितता भएको औँल्याएको छ। प्रतिवेदनअनुसार पछिल्लो साढे तीन वर्षमा एन्फाले करिब १४ देखि १५ करोड रुपैयाँ बराबरका खेल सामग्री खरिद गरेको देखिएको छ ।
एसियाली फुटबल महासङ्घको परियोजनाअन्तर्गत ६४ लाख ३२ हजार रुपैयाँभन्दा बढीको लागत अनुमान स्वीकृत भएको खरिदमा तीनवटै कम्पनीले अनुमानित रकमभन्दा बढीको प्रस्ताव पेस गरेका थिए । सबैभन्दा कम रकम प्रस्ताव गरेको भन्दै ६६ लाख ५३ हजार ९ सय रुपैयाँको कामारु ट्रेडिङको प्रस्ताव स्वीकृत गरिएको थियो ।
दस लाख रुपैयाँभन्दा बढीको खरिदमा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने व्यवस्था भए पनि सार्वजनिक सूचना प्रकाशित नगरी तीन वटा दरभाउका आधारमा खरिद गरिएको भन्दै उपसमितिले प्रश्न उठाएको छ । ०००००








-1758972041.jpeg)

प्रतिकृया दिनुहोस