नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

बिर्तामोड, २६ असोज । 
नवरात्रको दोस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन घटस्थापना गरी जौँको जमरा राखेर देवी शैलपुत्रीको पूजाआराधना गरिएको थियो । आज ब्रह्मचारिणी देवीको आह्वान गरी दुर्गा सप्तशती, श्रीमद्देवी भागवतलगायत धार्मिक ग्रन्थ र स्तोत्र पाठ गरेर पूजा गर्ने परम्परा छ ।
ब्रह्मचारिणी देवीलाई तपस्या, त्याग र साधनाको प्रतीकका रूपमा लिइन्छ । नवरात्रमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य, विद्या र सुखशान्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
यस अवसरमा देशभरका शक्तिपीठमा देवीको पूजाआराधना र दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।  आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन विशेष पूजा गरी विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने परम्परा छ । 
 

प्रतिकृया दिनुहोस