आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

बिर्तामोड, २६ असोज । 
दशैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु गरिएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । यसले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ ।
सामूहिक रूपमा फूलखेती गर्दै आएका महिला अहिले फूल टिप्ने र बजारमा बिक्री गर्ने काममा व्यस्त छन् । पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि समूहमा उत्साह थपिएको छ ।
महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार शनिबारदेखि फूल टिपेर बिक्री गर्न थालिएको हो । दमौलीमा कोसेली घर सञ्चालन गर्दै आउनुभएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गर्नुभएको उहाँले बताउनुभयो ।
स्थानीयस्तरमै उत्पादन भएको सयपत्री बिक्री गरेर प्रतिकिलो चार सय रुपैयाँसम्म आम्दानी गर्न सकिने गुरुङले बताउनुभयो । सामूहिक खेतीले महिलालाई श्रम र अनुभव साटासाट गर्दै आफ्नै उत्पादनबाट आम्दानी गर्ने अवसर दिएको उहाँको भनाइ छ ।
आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा तीन वर्षदेखि सयपत्री खेती हुँदै आएको छ । यहाँ उत्पादित फूलको बजारमा समस्या नरहेको उहाँले बताउनुभयो ।
स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता पनि घटेको छ । उत्पादन बढाउँदै बजार विस्तार गर्न सके महिलाको आम्दानी थप बढ्ने अपेक्षा गरिएको छ ।


 

प्रतिकृया दिनुहोस