भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या
बिर्तामोड, २६ असोज ।
म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।
असोज ८ देखि ११ गतेसम्म परेको वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै बाढीले सडक कटान गर्दा भासिएको र बगेको हो । यसका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।
पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकी नदीले बगाएपछि बागलुङ, रुकुम पूर्व र पश्चिम तथा जाजरकोटबाट पोखरा र काठमाडौँ आवतजावत गर्ने सवारीसाधनले पनि यही वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । यसले सडकमा सवारी चाप थपिएको छ ।
बेनी–२ खबराका कमल सुवेदीका अनुसार करिब एक सय मिटर क्षेत्रमा सडक साविकको भन्दा दुईदेखि तीन मिटर भासिएको छ । हिलोमा गाडी फस्ने, उकालो चढ्न नसक्ने र सडक साँघुरो हुँदा घण्टौँसम्म जाम हुने गरेको छ ।
सडक डिभिजन कार्यालय बागलुङले गत आर्थिक वर्षमा पहिरो क्षेत्रको भूमिगत पानी व्यवस्थापन र ढलान गरेको भए पनि अहिले सडक पुनः भासिएको छ । ग्राभेल राखेर मर्मत गर्दा पनि अर्को दिन उस्तै अवस्था आउने गरेको जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।
उहाँका अनुसार फसेका सवारीसाधनलाई डोजरको सहयोगमा निकाल्ने गरिएको छ । पहिरोका कारण खबरा गाउँसमेत जोखिममा परेको छ । समस्या समाधानका लागि नदीको दोभानमा पर्खालसहित तटबन्ध निर्माण गर्ने तथा पहिरोग्रस्त सडकको सतह मिलाएर पक्की बनाउने पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।






-1758972041.jpeg)


प्रतिकृया दिनुहोस