मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्रे अनिश्चित 

पाँचथर, २६ असोज । 
पाँचथरमा पर्ने पुष्पलाल मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र गर्ने काम अनिश्चित बनेको छ । ठेक्का सम्झौता भएको ६ वर्ष पुग्न लाग्दासमेत निर्माणले गति लिन नसकेको हो । तीन प्याकेजमध्ये एउटाको ठेक्का रद्द भइसकेको छ भने बाँकी दुई प्याकेजको काम पनि सुस्त छ ।
नेपाल–भारत सीमा चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका–४ दारिम्बासम्मको करिब ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । २०७७ माघ १९ गते तीन प्याकेजमा ठेक्का सम्झौता भएको यस सडकका कुनै पनि खण्डमा ५५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन ।
पहिलो प्याकेजको १६ किलोमिटर सडक निर्माणको जिम्मा रोशन–शिवशक्ति जेभीले ५३ करोड १७ लाख रुपैयाँमा लिएको थियो। चार पटक म्याद थप भइसकेको यस खण्डको भौतिक प्रगति ३५ प्रतिशत मात्रै छ । थपिएको अन्तिम म्यादअनुसार आगामी जेठसम्म काम सक्नुपर्ने भए पनि निर्धारित समयमा पूरा हुने सम्भावना न्यून छ ।
दोस्रो प्याकेजको करिब १७ किलोमिटर सडक निर्माणको ठेक्का १६ प्रतिशत मात्रै प्रगति भएपछि गत असार ११ गते रद्द गरिएको थियो । सन्तोषी शिवशक्ति जेभीले ४६ करोड ४६ लाख रुपैयाँमा ठेक्का लिएको यस खण्डमा नयाँ ठेक्का कहिले लाग्ने भन्ने निश्चित छैन । ठेक्का रद्द गर्ने निर्णयविरुद्ध निर्माण कम्पनी अदालत पुगेपछि प्रक्रिया थप लम्बिएको छ ।
तेस्रो प्याकेजको भौतिक प्रगति भने ५५ प्रतिशत पुगेको छ। रोशन–शिवशक्ति जेभीले ४६ करोड ३६ लाख रुपैयाँमा ठेक्का लिएको यस खण्डको म्याद थप गर्ने विषयमा अध्ययन भइरहेको कार्यालयले जनाएको छ ।
निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ । बाढीपहिरो र मेवा खोलाको दोभानेमा आउने बाढीले सडक अवरुद्ध हुनुका साथै निर्माणमा समेत क्षति पु¥याउने गरेको छ ।
स्थानीय बासिन्दाले ठेकेदारलाई काममा लगाउन सरकारी निकायले कडाइ गर्नुपर्ने माग गरेका छन् । मध्यपहाडी राजमार्ग योजना कार्यालय फिदिमका प्राविधिक शिवरामप्रसाद देवले पर्याप्त जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन नहुँदा सुरुमा कामले गति लिन नसकेको र पछिल्ला वर्षमा वर्षा तथा बाढीपहिरोले थप अवरोध सिर्जना गरेको बताउनुभयो । ००००००
 

प्रतिकृया दिनुहोस