एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते काठमाडौंमा हुने, तयारी बैठक सुरु
काठमाडौँ, २७ असोज ।
नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी सुरु गरेको छ । भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक आज बसेको छ ।
पार्टी उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्य तथा सचिव एवं सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय भेलाको तयारी, सहभागिता र व्यवस्थापनका विषयमा छलफल भएको छ ।
उपमहासचिव भट्टले पार्टीका नीति, पारित दस्तावेज र वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
सङ्गठन विभाग प्रमुख ढकालका अनुसार मंसिर २ गते बिहान ११ बजे सुरु हुने भेला भोलिपल्ट साँझसम्म सञ्चालन हुनेछ । भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्गठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित तीन हजार एक सय ६४ जना सहभागी हुनेछन् ।
भेलामा तीन सय ४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना, प्रदेश तथा प्रवासी सङ्गठनबाट ५५ जना र जिल्ला तहबाट चार सय ४० जना सहभागी हुनेछन् । त्यस्तै, पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले एक हजार पाँच सय ६ जना सहभागी हुनेछन् ।
यसैगरी, सङ्घीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभा सदस्य एक सय ५५ जना, स्थानीय तहका प्रमुख एक सय ९६ जना, उपप्रमुख तथा उपाध्यक्ष तीन सय ४२ जना र जनसङ्गठनबाट ९६ जना सहभागी हुने एमालेले जनाएको छ ।
पार्टी सचिव महेश बस्नेतसहित उपत्यकाका पार्टी कमिटी तथा जनसङ्गठनका नेताहरू पनि तयारी बैठकमा सहभागी हुनुभएको थियो । ०००००





.jpeg)

-1758972041.jpeg)


प्रतिकृया दिनुहोस