हुलाकको सेवा विस्तारका लागि १०० मोटरसाइकल खरिद प्रक्रिया सुरु
काठमाडौँ, २७ असोज ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाइने बताउनुभएको छ ।
हुलाक सेवा विभागले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री तिमिल्सिनाले हुलाक सेवाको ऐतिहासिक महत्व कायम राख्दै समयअनुसार सेवा परिमार्जन र विस्तार गर्नुपर्ने बताउनुभयो ।
उहाँले कर्मचारीको क्षमता अभिवृद्धि, आवश्यक साधनस्रोतको व्यवस्था र दूरदराजका नागरिकसम्म सेवा पु¥याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । विगतका कमजोरी र समस्या पहिचान गरी सेवा प्रवाह प्रभावकारी बनाउन कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उहाँको भनाइ छ ।
मन्त्री तिमिल्सिनाले बजेट तथा साधनस्रोतको अभाव देखाएर कर्मचारी आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताउनुभयो । सुशासनलाई प्राथमिकता दिएको वर्तमान सरकारले कार्यसम्पादनका क्रममा देखिएका समस्या समाधान गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
हुलाक सेवामा सवारीसाधनको अभाव हटाउन एक सय थान मोटरसाइकल खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिँदै उहाँले अतिरिक्त हुलाकका कर्मचारीको सुविधालाई समयानुकूल बनाउने विषयमा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।
मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर छिटो र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेका गोरखा, सल्यान, म्याग्दी र भक्तपुर हुलाक कार्यालयका प्रमुखहरूलाई सम्मान गरिएको थियो । हुलाक प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षक ध्रुवराज आचार्य पनि नगदसहित पुरस्कृत हुनुभएको छ । ०००००







-1758972041.jpeg)



प्रतिकृया दिनुहोस