एन्फाको खातामा बहराइनबाट आएको २८ हजार डलर भेटियो, २० हजार डलरको हिसाब छैन 

विर्तामोड, २६ असोज । 
निलम्बित अखिल नेपाल फुटबल सङ्घ एन्फाको बैंक खातामा बहराइन फुटबल सङ्घबाट प्राप्त २८ हजार ९५४ अमेरिकी डलर भेटिए पनि सोही खेलको टिकट बिक्रीबाट प्राप्त हुनुपर्ने २० हजार डलरको हिसाब फेला नपरेको अनुसन्धानबाट खुलेको छ ।
एन्फाका लेखापाल सञ्जिव पाण्डेले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई दिएको बयानअनुसार सन् २०२४ अक्टोबर ७ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खातामा उक्त रकम जम्मा भएको थियो । नेपाली खेलाडी तथा पदाधिकारीको हवाई टिकट खर्चका लागि आएको सो रकम नेपाली ३८ लाख ५८ हजार रुपैयाँभन्दा बढी हुन्छ ।
विश्वकप २०२६ तथा एसियाली कप छनोटअन्तर्गत नेपाल र बहराइनबीच सन् २०२४ मार्च २१ मा काठमाडौँमा हुनुपर्ने खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य ठहरिएपछि बहराइनमा सारिएको थियो । सीआईबीको प्रतिवेदनअनुसार एन्फाका महासचिव किरण राईले कार्यसमितिको औपचारिक निर्णय र सम्बन्धित सरकारी निकायलाई जानकारी नदिई खेल बहराइनमा सञ्चालन गर्ने सम्झौता गर्नुभएको थियो ।
सम्झौताअनुसार खेलको टिकट बिक्रीबाट प्राप्त २० हजार अमेरिकी डलर एन्फाले पाउनुपर्ने भए पनि रकम सङ्घको कुनै पनि आधिकारिक बैंक खातामा जम्मा भएको देखिएको छैन । एन्फाका कोषाध्यक्ष रविन्द्रमान जोशीले पनि उक्त रकम खातामा प्राप्त नभएको र यसबारे आफूलाई जानकारी नभएको बयान दिनुभएको छ ।
बहराइनमा भएका दुवै खेलमा नेपाल क्रमशः पाँच–शून्य र तीन–शून्य गोलले पराजित भएको थियो ।
सीआईबीले एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्रमान जोशी र लेखापाल सञ्जिव पाण्डेविरुद्ध खेलमा मिलेमतो तथा अनियमितता, राष्ट्रहितविरुद्धको कसुर र ठगीसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । प्रतिवेदनमा मुलुकी अपराध संहिताअनुसार ठगीको दायित्व निर्धारण गर्नुपर्ने उल्लेख छ । ०००००
 

प्रतिकृया दिनुहोस