विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

बिर्तामोड, २७ असोज । 
आईसीसी क्रिकेट विश्वकप लिग दुईअन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अल अमेरतस्थित मिनिस्ट्री टर्फ एक मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो । उक्त खेलमा नेपाली ब्याटर रोहित पौडेलले शतक बनाउनुभएको थियो । यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई हराएको थियो ।
ओमानको जितसँगै नेपाल लिग दुईको शीर्ष चारमा रहने दौडबाट बाहिरिएको छ । अब नेपालको ध्यान एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने र आगामी विश्वकप छनोटको यात्रा तय गर्नेमा केन्द्रित छ ।
लिग दुईको अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा छ । क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ भने ओमान २९ खेलबाट ३३ अंकसहित अघि छ ।
लिग दुईको शीर्ष चारमा पर्न नसकेपछि नेपालले एकदिवसीय विश्वकप छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ । प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र संयुक्त अरब इमिरेट्स सहभागी हुनेछन् ।
लिग दुईमा नेपालले अब पाँचौँ वा छैटौँ स्थानमा रहेर प्रतियोगिता टुङ्ग्याउन सक्नेछ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को स्पष्ट व्यवस्था सार्वजनिक नभए पनि छैटौँ स्थानसम्म रहँदा नेपाललाई सहज हुने आकलन गरिएको छ । 

प्रतिकृया दिनुहोस