त्रिविलाई डिजिटल र अनुसन्धानमुखी विश्वविद्यालय बनाउने योजना

बिर्तामोड, २७ असोज । 
त्रिभुवन विश्वविद्यालयले आफ्नो शैक्षिक, प्रशासनिक तथा प्राज्ञिक संरचनामा व्यापक सुधार गर्ने योजना अघि सारेको छ । विश्वविद्यालयलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउँदै डिजिटल विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा प्रस्तुत नीति तथा कार्यक्रममा मोबाइल एप सञ्चालन, डिजिटल ड्यासबोर्ड निर्माण र परीक्षा प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने योजना समेटिएको छ ।
विश्वविद्यालयले विद्यार्थी भर्ना, परीक्षा, छात्रवृत्ति, परिचयपत्र, गुनासो व्यवस्थापन, करिअर विकास तथा रोजगार सहजीकरणका लागि एकीकृत विद्यार्थी सेवा प्रणाली विकास गर्ने भएको छ । साथै, अनुसन्धानलाई प्रोत्साहन गर्न प्रतिस्पर्धात्मक अनुदान, साझा प्रयोगशाला, पेटेन्ट दर्ता र स्टार्टअप प्रवद्र्धनका कार्यक्रम अघि सारिएका छन् ।
बदलिँदो श्रम बजारअनुसार पाठ्यक्रम परिमार्जन गर्ने, प्रविधिमैत्री शिक्षण विस्तार गर्ने र विशेषीकृत अध्ययन तथा अनुसन्धानका लागि ‘स्कुल’ अवधारणा लागू गर्ने योजना पनि छ । प्रशासनिक पुनःसंरचनासँगै अधिकार र जिम्मेवारी विकेन्द्रीकरण गर्ने, कम विद्यार्थी भएका शैक्षिक कार्यक्रम गाभ्ने तथा विश्वविद्यालयको सम्पत्ति व्यवस्थापनलाई डिजिटल बनाउने नीति लिइएको छ ।
त्यस्तै, आङ्गिक क्याम्पसले आन्तरिक आम्दानीबाट क्याम्पसको सौन्दर्यीकरणमा अधिकतम २० लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । वातावरणमैत्री पूर्वाधार विकास र हरित विश्वविद्यालय निर्माणलाई पनि प्राथमिकता दिइएको छ ।
विश्वविद्यालयले शिक्षक तथा कर्मचारीको पेन्सन व्यवस्थापन सुधार गर्ने योजना अघि सारेको छ । तर, यससम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न आवश्यक कानुनी तथा वित्तीय निर्णय र नेपाल सरकारको स्वीकृति आवश्यक पर्नेछ । 
 

प्रतिकृया दिनुहोस