मुस्ताङमा हालसम्म ३० प्रतिशत मात्रै स्याउ निकासी
मुस्ताङ, २७ असोज ।
मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढे पनि हालसम्म ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षापछि बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो ।
सडक सञ्चालनमा आएपछि किसान र व्यापारीले स्याउ टिपेर बजार पठाउन थालेका छन् । तर, बिक्रीको मुख्य याम घर्किन लागेकाले उत्पादित स्याउ समयमै बजार पु¥याउन नसकिने चिन्ता बढेको छ ।
कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार अहिलेसम्म ७० प्रतिशत स्याउ बजार पठाइसक्नुपर्ने भए पनि ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ । मुस्ताङमा उत्पादित स्याउमध्ये १० प्रतिशत जिल्लाभित्रै खपत हुने गरेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष जिल्लामा १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ । गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन बढेकाले यस वर्ष झन्डै दुई अर्ब रुपैयाँको स्याउ बिक्री हुने अनुमान गरिएको छ ।
सडक पूर्ण रूपमा सहज भइनसके पनि जिल्लाका पाँचवटै स्थानीय तहमा उत्पादित स्याउ बजार पठाउन थालिएको छ । घरपझोङ गाउँपालिका–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मले सडक सञ्चालन भएको दुई दिनमै छ ट्रक स्याउ काठमाडौँ पठाएको जनाएको छ । ०००००







-1758972041.jpeg)



प्रतिकृया दिनुहोस