गैँडाकोटमा चिहान खनेर शव निकालेको आरोपमा युवक पक्राउ
बिर्तामोड, ३० असोज ।
नवलपुरको गैँडाकोटमा महिलाको चिहान खनेर शव बाहिर निकालेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–४, रानीतालका ३१ वर्षीय शक्ति परियार भनिने शिव रहेका छन् । उहाँमाथि सोही ठाउँकी ४९ वर्षीया कनिमाया गुरुङको समाधिस्थल खनेर शव निकालेको आरोप छ ।
प्रहरीका अनुसार कनिमायाको गत असोज २४ गते मृत्यु भएको थियो । उहाँको परम्पराअनुसार गैँडाकोट सामुदायिक वन क्षेत्रमा खाडल खनेर शव समाधिस्थ गरिएको थियो ।
काजकिरियाको अन्तिम दिन असोज २६ गते बिहान मृतकका आफन्त माटो लिन समाधिस्थल पुग्दा चिहान खनिएको र शव खुला अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा समाधिस्थल खनेर शव निकालेको तथा समाधिस्थलमा क्षति पु¥याएको आरोपमा परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
पक्राउ परेका परियारविरुद्ध धर्मसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिकृया दिनुहोस