चाडपर्वमा अनलाइन ठगी बढ्न सक्ने भन्दै राष्ट्र बैंकको सतर्क रहन आग्रह

बिर्तामोड, ३१ असोज । 
दसैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगी हुन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले चाडपर्वको अवसरमा आकर्षक उपहार, चिट्ठा र भारी छुटको प्रलोभन देखाएर ठगी हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको हो ।
दसैँ धमाका, तिहार तथा छठको बम्पर उपहार परेको भन्दै सामाजिक सञ्जालमार्फत नक्कली लिंक पठाउने र सेवा शुल्क वा करका नाममा अग्रिम रकम माग्ने प्रवृत्ति देखिन सक्ने इकाइले जनाएको छ ।
त्यस्तै, ब्रान्डेड सामानमा भारी छुट दिने विज्ञापन राखेर रकम असुल्ने तर सामान नपठाउने वा ग्राहकलाई सम्पर्कविहीन बनाउने घटनाबाट पनि सावधान रहन भनिएको छ ।
राष्ट्र बैंकले मोबाइलमा आउने एकपटक प्रयोग हुने सङ्केत नम्बर, बैंक खाताको पासवर्ड र डिजिटल वालेटको गोप्य सङ्केत कसैलाई पनि नदिन आग्रह गरेको छ । निःशुल्क रिचार्ज, चिट्ठा वा उपहारसम्बन्धी शङ्कास्पद लिंक नखोल्न तथा अनलाइन खरिद गर्दा आधिकारिक र विश्वसनीय वेबसाइट मात्र प्रयोग गर्न पनि सुझाव दिएको छ ।
डिजिटल भुक्तानी गर्नुअघि वेबसाइटको ठेगाना जाँच गर्न र सम्भव भएसम्म सामान प्राप्त भएपछि मात्र भुक्तानी गर्ने विकल्प रोज्न राष्ट्र बैंकले आग्रह गरेको छ । 
 

प्रतिकृया दिनुहोस