नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति प्रतिबद्ध : महानिरीक्षक कार्की
काठमाडौँ, ३० असोज ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जनताको सेवा, समुदायको सुरक्षा, विधिको शासन र नागरिकको विश्वास अभिवृद्धिप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।
एकहत्तरौँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपाल प्रहरीको सात दशकभन्दा लामो यात्रामा राष्ट्र र नागरिकको सुरक्षाका लागि एक हजार ७९८ जना प्रहरी कर्मचारीले जीवन बलिदान गरेको जानकारी दिनुभयो । उहाँले अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका परिवारजनप्रति सम्मान व्यक्त गर्नुभयो ।
महानिरीक्षक कार्कीले भोटेकोशी–त्रिशूली बाढीमा २८ जना प्रहरी कर्मचारी प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै तीन जनाले ज्यान गुमाएको र २५ जना बेपत्ता भएको बताउनुभयो । विपद्का कठिन परिस्थितिमा पनि प्रहरीले खोज, उद्धार, सुरक्षा र मानवीय सहायतामा अग्रपङ्क्तिमा रहेर काम गरेको उहाँको भनाइ थियो ।
उहाँका अनुसार गत वर्ष क्षतिग्रस्त भएका ४५९ प्रहरी कार्यालयमध्ये ४५३ वटाको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको छ भने बाँकी कार्यालय पुनर्निर्माणको क्रममा छन् ।
महानिरीक्षक कार्कीले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र प्रविधिमैत्री बनाइने बताउनुभयो । वित्तीय ठगीसम्बन्धी अनलाइन उजुरी, नागरिक गुनासो, प्रहरी चारित्रिक प्रमाणपत्र, भर्ना तथा तालिम र अपराध अभिलेखलगायत प्रणालीको विकास तथा स्तरोन्नति गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँले प्रहरी सङ्गठनमा अनुशासन, आदेश तथा नियन्त्रण प्रणाली र कमान्ड शृङ्खला कायम राख्दै नागरिक सेवामा प्रभावकारिता बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
यस वर्ष ‘विपदमा सारथी, सङ्कटमा छहारी र प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने आदर्श वाक्यका साथ देशभर प्रहरी दिवस मनाइएको छ । ०००००









प्रतिकृया दिनुहोस