दसैँले जोड्दै माइती–मावलीको सम्बन्ध

काठमाडौँ, १ कात्तिक । 
नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बडादसैँ पछिल्लो समय मनाउने शैलीमा परिवर्तन आए पनि पारिवारिक सम्बन्ध नवीकरण गर्ने र माइती–मावलीसँगको आत्मीयता बढाउने पर्वका रूपमा स्थापित छ ।
मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने तथा सुखदुःख साटासाट गर्ने परम्पराले दसैँलाई पारिवारिक एकता र सामाजिक सद्भावको पर्व बनाएको छ । तर, सहरीकरण, बसाइँसराइ, वैदेशिक रोजगारी र प्रविधिको विस्तारसँगै पर्व मनाउने तौरतरिकामा परिवर्तन आएको छ ।
त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका पूर्वप्रमुख डा. सोमप्रसाद खतिवडाले दसैँ नेपालीको सांस्कृतिक पहिचानसँग जोडिएको राष्ट्रिय पर्व भएको बताउभएको छ । उहाँका अनुसार समयसँगै मनोरञ्जनका साधन र पर्व मनाउने शैली फेरिए पनि चाडपर्वले समाजलाई जोड्ने काम गरिरहेका छन् ।
भाषाविद् तथा साहित्यकार डा. बलदेव अधिकारीले दसैँले विशेषगरी माइती, मावली र अन्य नातेदारबीचको सम्बन्धलाई जीवन्त राख्ने बताउनुभएको छ । पहिले लामो समय तयारी गरेर मनाइने दसैँमा आफन्तकहाँ जाने, टीका लगाउने र आशीर्वाद लिने परम्पराले पारिवारिक सम्बन्धलाई निरन्तरता दिने गरेको उहाँको भनाइ छ ।
तर, पछिल्लो समय दक्षिणा र खर्चको प्रतिस्पर्धा बढ्नुका साथै आफन्तकहाँ जाने र भेटघाट गर्ने परम्परालाई झन्झटका रूपमा लिने प्रवृत्ति देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार दसैँको वास्तविक महत्त्व खर्च र प्रदर्शनमा नभई आत्मीयता र पारिवारिक सम्बन्धमा छ ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका महासचिव डा. कृष्ण सुवेदीले पनि संस्कृतिका सकारात्मक पक्ष संरक्षण गर्दै समयअनुसार सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । चाडपर्वलाई अनावश्यक खर्च र देखावटी प्रतिस्पर्धाभन्दा आपसी सहयोग, समानता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा विकास गर्नुपर्ने उहाँको धारणा छ ।
दसैँ कृषि संस्कृति, प्रकृति र सामूहिक जीवनसँग पनि जोडिएको छ । घटस्थापनामा जमरा राख्ने, पिङ खेल्ने, आफन्तसँग भेटघाट गर्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ । अहिले विदेशमा रहेका आफन्तसँग भिडियो कल र सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान गर्ने चलनले पनि सम्बन्ध कायम राख्न सहयोग पु¥याएको छ ।
दसैँको सांस्कृतिक महत्त्व नयाँ पुस्तालाई बुझाउँदै मौलिक परम्परा जोगाउनु आवश्यक देखिएको छ । आर्थिक अवस्था कमजोर भएका परिवार, ज्येष्ठ नागरिक र एक्लो जीवन बिताइरहेका व्यक्तिलाई सहयोग गर्ने तथा घरायसी काममा परिवारका सबै सदस्य सहभागी हुने अभ्यासले पर्वलाई थप समावेशी बनाउन सक्छ ।
यसर्थ, दसैँलाई धार्मिक अनुष्ठान र औपचारिक भेटघाटमा मात्र सीमित नराखी माइती–मावलीको सम्बन्ध सुदृढ गर्ने, सांस्कृतिक पहिचान जोगाउने र सामाजिक सद्भाव बढाउने अवसरका रूपमा लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ०००००
 

प्रतिकृया दिनुहोस