वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो
बिर्तामोड, ३ कात्तिक ।
काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । वर्षमा एक दिन महानवमीका अवसरमा मात्र सर्वसाधारणका लागि खुल्ने मन्दिर आज कात्तिक ३ गते बिहान ५ बजेदेखि खुला गरिएको हो। दर्शनका लागि मन्दिर खुल्नुअघि नै भक्तजन लामबद्ध भएका थिए । बेलुकी ६ बजेसम्म पूजा तथा दर्शनको व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको यस मन्दिरमा हरेक वर्ष हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन् । कोरोना महामारीका कारण २०७७ सालमा भने मन्दिर सर्वसाधारणका लागि खुला गरिएको थिएन ।
यसैबीच, तलेजु भवानीलाई मूलचोकमा राखेर आज राति कालरात्रि पूजा गरिँदैछ । पूजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिइने जनाइएको छ ।
विजयादशमीका दिन कात्तिक ४ गते बिहान १० बजेर ५१ मिनेटमा तलेजु भवानीको यात्रा गराई बिहान ११ बजेर ५२ मिनेटमा मूल मन्दिरमा स्थिरासन गराउने साइत निर्धारण गरिएको छ ।





.jpeg)
-(1).jpeg)




प्रतिकृया दिनुहोस