बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
म्याग्दी, ३ कात्तिक ।
चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा पछिल्लो मनसुनजन्य विपद्का कारण करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन तीनदेखि चार अर्ब रुपैयाँ आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।
गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि पहिरो, कालीगण्डकी नदीको बाढी र कटानले सडकमा ठूलो क्षति पु¥याएको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार बाढीले १० स्थानमा सडक बगाएको तथा भत्काएको छ भने ५० स्थानमा पहिरो गएको छ ।
प्रारम्भिक मर्मतपछि दुई सातामै सडक सञ्चालनमा ल्याइए पनि पूर्ण पुनर्निर्माणका लागि थप बजेट आवश्यक पर्ने उहाँले बताउनुभयो । विशेषगरी म्याग्दी खण्डमा सडक स्तरोन्नति र नदी नियन्त्रणका काम गर्नुपर्ने भएको छ ।
पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म जोडिने २०२ किलोमिटर सडकमा सबैभन्दा बढी म्याग्दीको ३३ किलोमिटर खण्ड प्रभावित भएको छ । बाढीपहिरोपछि यस खण्ड पार गर्न पहिलेको एक घण्टा तीन मिनेटको सट्टा तीनदेखि चार घण्टा लाग्ने गरेको छ ।
कालीगण्डकीले पोखरेबगर सडक पुल बगाएपछि अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिएको छ । अधिकांश क्षतिग्रस्त स्थानमा एकतर्फी सवारी सञ्चालन हुँदा जाम र सवारीसाधन फस्ने समस्या देखिएको छ ।
कोरला नाकाबाट हुने व्यापार, पर्यटन र स्थानीय आवागमनका लागि महत्त्वपूर्ण मानिएको सडकको पुनर्निर्माणमा बजेट अभाव हुन नदिने विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रतिबद्धता जनाउनुभएको छ । उहाँले कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशनसमेत दिनुभएको छ । ०००००





.jpeg)
-(1).jpeg)




प्रतिकृया दिनुहोस