आइएमई ग्रुपले होटल ब्रान्ड ‘इला’ सातै प्रदेशमा विस्तार गर्ने
चितवन, ३ कात्तिक ।
आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’ मार्फत नेपालको पर्यटन प्रवद्र्धन र पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । अन्तर्राष्ट्रियस्तरको सेवा अन्य अन्तर्राष्ट्रिय ब्रान्डका होटलको तुलनामा करिब ५० प्रतिशत कम शुल्कमा उपलब्ध गराइरहेको समूहले जनाएको छ ।
नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नै होटल ब्रान्ड विकास गरी सातै प्रदेशमा पर्यटकीय पूर्वाधार विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।
हाल समूहले गैँडाकोट, हर्कपुर र बागलुङमा इला ब्रान्डका होटल सञ्चालन गरिरहेको छ । कैलालीमा इला लज तथा पाल्पाको वसन्तपुरमा इला रिसोर्ट सञ्चालनको तयारी भइरहेको छ । पोखरामा द लेक साइड रिट्रिट र काठमाडौँको लाजिम्पाटमा इला होटल सञ्चालनमा छन्। समूहको चन्द्रागिरि हिल्स रिसोर्ट पनि सञ्चालनमा छ ।
अध्यक्ष ढकालले विदेशमा कामको अनुभव लिएका ३० प्रतिशतभन्दा बढी कर्मचारी रहेको जानकारी दिँदै दक्ष जनशक्ति र आधुनिक सुविधाका कारण अन्तर्राष्ट्रिय होटल ब्रान्डसँग प्रतिस्पर्धा गर्न सफल भएको बताउनुभयो ।
होटलका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न समूहले आफ्नै प्राविधिक तालिम केन्द्रसमेत सञ्चालन गरिरहेको छ ।
चन्द्रागिरिमा केबलकार, रिसोर्ट र मनोरञ्जन पार्क सञ्चालनबाट प्राप्त अनुभवका आधारमा सातै प्रदेशमा यस्ता पर्यटकीय पूर्वाधार विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो। यसबाट नेपाल आउने पर्यटकको बसाइ अवधि दोब्बर बनाउन सकिने उहाँको अपेक्षा छ ।
समूहले मौलाकालिका, लुम्बिनी र चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ । कैलालीको चिसापानीमा जालपादेवी केबलकार निर्माणको तयारी छ भने पाथीभरामा ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । देवघाटबाट मौलाकालिका जोड्ने केबलकार निर्माण तथा कास्कीको सिक्लेसमा केबलकार सञ्चालनको प्रक्रिया पनि अघि बढाइएको छ ।
यसैगरी, कर्णालीको रारामा होटल सञ्चालन गर्ने र मधेस प्रदेशमा पर्यटकीय पूर्वाधार विकासका लागि अध्ययन गर्ने योजना रहेको समूहले जनाएको छ । अध्यक्ष ढकालले निजी क्षेत्रको लगानीले रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । ०००००






-(1).jpeg)




प्रतिकृया दिनुहोस