एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रविधि ल्याउने तयारी 

काठमाडौँ, ३० असोज । 
नेपाल प्रिमियर लिग क्रिकेटको तेस्रो संस्करणमा निर्णय पुनरावलोकन प्रणाली अर्थात् डीआरएस प्रविधि प्रयोग गर्ने तयारी गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्न लागेको प्रतियोगितामा डीआरएस समावेश गर्ने विषयमा अहिले छलफल भइरहेको क्यानका सचिव पारस खड्काले जानकारी दिनुभएको छ ।
सचिव खड्काका अनुसार प्रतियोगितामा यो प्रविधि जडान गर्न करिब डेढदेखि दुई करोड रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ । यसबारे औपचारिक निर्णय भएपछि छिट्टै सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
प्रविधि जडानको खर्च क्यान र प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टोलीले संयुक्त रूपमा बेहोर्ने योजना छ । व्यावसायिक प्रसारण अधिकारबाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत बाँडफाँटअन्तर्गतको रकमबाट खर्च व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ । यसबाट कुनै एक पक्षमाथि मात्रै आर्थिक भार नपर्ने क्यानको अपेक्षा छ ।
यसैगरी, चिसो मौसम र शीतका कारण खेलमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै खेल सुरु हुने समय केही अगाडि सार्ने विषयमा पनि छलफल भइरहेको छ ।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । ०००००
 

प्रतिकृया दिनुहोस