भारतको बिहारमा पटाका बनाउने कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु
बिर्तामोड, ७ कार्तिक ।
भारतको बिहार राज्यस्थित सिवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने क्रममा एक घरमा भीषण विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । सिवानका प्रहरी अधीक्षक भारत सोनीका अनुसार मेडिकल टोलीको मूल्याङ्कनपछि सिभिल सर्जनले पाँचवटा शव फेला परेको पुष्टि गर्नुभएको छ ।
घटना हुँदा घरमा सातदेखि आठ जना रहेको बताइएको छ । तीमध्ये दुईदेखि तीन जना घरबाहिर रहेको जानकारी प्राप्त भएको बीबीसीले जनाएको छ । उनीहरूको खोजी भइरहेको छ ।
प्रहरी अधीक्षक सोनीका अनुसार घटनास्थलमा फरेन्सिक टोली र बम पत्ता लगाउने तथा निष्क्रिय पार्ने टोली परिचालन गरिएको छ । आगो पूर्ण रूपमा निभाइसकिएको र भग्नावशेषमा थप शव हुन सक्ने आशङ्कामा खोजतलास जारी रहेको उहाँले बताउनुभएको छ ।
घटनाको वास्तविक कारण पत्ता लगाउन विशेष प्रहरी टोली गठन गरी अनुसन्धान अघि बढाइएको छ । प्रहरीले घटनासम्बन्धी प्राथमिकीसमेत दर्ता गरेको छ ।
यसैबीच, घटनामा लापरबाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका इन्चार्ज र स्थानीय प्रहरी चौकीदार चन्द्रिका माझीलाई तत्काल लागू हुने गरी निलम्बन गरिएको छ ।






-1791531287.jpeg)





प्रतिकृया दिनुहोस