बाढी प्रभावित तीन जिल्लाका १५ सयभन्दा बढी बालबालिकामा कुपोषण
बिर्तामोड, १ कात्तिक ।
भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका एक हजार पाँच सयभन्दा बढी बालबालिकामा मध्यम खालको कुपोषण देखिएको छ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको अध्ययनअनुसार १३ जना बालबालिकामा गम्भीर शीघ्र कुपोषण रहेको छ । यस्तो कुपोषण भएका बालबालिकालाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले प्रभावित क्षेत्रका सात हजार जोखिममा रहेका बालबालिका, गर्भवती महिला र सुत्केरी आमालाई पोषणयुक्त पिठो वितरण गर्ने तयारी गरेको छ ।
योजनाअनुसार गर्भवती तथा सुत्केरी आमालाई तीन महिनासम्म प्रत्येक महिना छ किलोग्राम र बालबालिकालाई छ महिनासम्म प्रत्येक महिना तीन किलोग्राम पोषणयुक्त पिठो उपलब्ध गराइनेछ ।
पोषणविज्ञहरूले राहतका रूपमा चाउचाउलगायत अस्वस्थकर खानेकुरा वितरण गर्दा बालबालिकामा कुपोषणको जोखिम बढेको बताएका छन् । उनीहरूले कुपोषणलाई गम्भीर अवस्थामा पुग्न नदिन तत्काल पोषणयुक्त खाना उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।
गत वैशाखमा गरिएको राष्ट्रिय पोषण मूल्यांकन अभियानले पनि देशभरका छ महिनादेखि पाँच वर्षसम्मका झन्डै पाँचमध्ये एक बालबालिकामा मध्यम शीघ्र कुपोषण रहेको देखाएको थियो ।










प्रतिकृया दिनुहोस