मन्त्री रावल झापाका सुकुम्बासीको गुनासो सुन्दै
झापा, १७ कात्तिक ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापाका भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या बुझ्न स्थलगत भ्रमण गरी जनगुनासो सुन्नुभएको छ ।
सोमबार र आज उहाँले दमक, कनकाई, अर्जुनधारा र बुद्धशान्तिका बस्तीमा पुगेर स्थानीयसँग समस्या र समाधानका विषयमा छलफल गर्नुभयो । आज बुद्धशान्ति गाउँपालिका–४ को सुकुम्बासी बस्तीमा पुग्नुभएकी मन्त्री रावलले सरकारले सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने बताउनुभयो ।
उहाँले बुद्धशान्ति गाउँपालिकाका सुकुम्बासीलाई आगामी दुई महिनाभित्र लालपुर्जा वितरण गर्ने आश्वासन दिनुभयो । स्थानीयले मन्त्रीसमक्ष लामो समयदेखि लालपुर्जा पाउन नसकेको गुनासो राखेका थिए ।
झापा निर्वाचन क्षेत्र नं १ का सांसद रमेश प्रसाईँले जिल्लामा सुकुम्बासी समस्या समाधानको काम अपेक्षाकृत हुन नसकेकाले मन्त्री स्वयं स्थलगत भ्रमणमा आउनुपरेको बताउनुभयो । उहाँले मन्त्रीको भ्रमणले वर्षौंदेखि लालपुर्जा पाउन नसकेका नागरिकमा जग्गाको स्वामित्व प्राप्त गर्ने आशा जागेको उल्लेख गर्नुभयो ।
सोमबार झापा पुगेलगत्तै मन्त्री रावलले जिल्ला प्रशासन कार्यालयमा जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरी सुकुम्बासी समस्या समाधानका लागि तीव्र गतिमा परिणाममुखी काम गर्न निर्देशन दिनुभएको थियो । ०००००



.jpeg)


.jpeg)


प्रतिकृया दिनुहोस