काभा पुरुष भलिबल लिगमा रुकुम पश्चिमको पहिलो खेल इरानसँग
काठमाडौं, १८ कात्तिक ।
भारतमा आयोजना हुने काभा पुरुष भलिबल लिगमा नेपालको रुकुम पश्चिमले पहिलो खेल इरानको फुलाड सिरजान इरानियनसँग खेल्ने भएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसनले सार्वजनिक गरेको खेलतालिका अनुसार रुकुम पश्चिमले नोभेम्बर १५ मा इरानी टोलीसँग प्रतिस्पर्धा गर्नेछ । भारतको ओडिसास्थित भुवनेश्वरमा नोभेम्बर १५ देखि २२ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित पाँच देशका ६ टोली सहभागी हुँदैछन् ।
प्रतियोगितामा नेपालको रुकुम पश्चिमसँगै भारतका मुम्बई मेटियर्स र बेंगलुरु टोरपेडोज, इरानको फुलाड सिरजान इरानियन, काजकिस्तानको झेतिसु र अफगानिस्तानको काम एयर सहभागी छन् ।
रुकुम पश्चिमले लिग चरणमा पाँच खेल खेल्नेछ । नोभेम्बर १६ मा काजकिस्तानको झेतिसु, १७ मा बेंगलुरु टोरपेडोज, १९ मा अफगानिस्तानको काम एयर र २० नोभेम्बरमा मुम्बई मेटियर्ससँग प्रतिस्पर्धा गर्नेछ ।
लिग चरणपछि अंकतालिकाको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनलमा पहिलो र चौथो स्थानका टोली तथा दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानका टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
नोभेम्बर २१ मा सेमिफाइनलका खेल हुनेछन् भने २२ नोभेम्बरमा तेस्रो स्थान र उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । ०००००





.jpeg)


.jpeg)


प्रतिकृया दिनुहोस