एकल महिला पार्वती च्याउखेतीबाट आत्मनिर्भर
बिर्तामोड, १८कार्तिक ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँकी एकल महिला पार्वती थापा व्यावसायिक च्याउखेतीबाट आत्मनिर्भर बन्नुभएको छ । श्रीमान्को निधनपछि आर्थिक अभाव झेल्नुभएकी उहाँले च्याउखेतीबाट घरखर्च र दुई छोराको पढाइ खर्च जुटाउँदै आउनुभएको छ । विसं २०६९ मा श्रीमान् गुमाएपछि आत्मनिर्भर बन्ने सोच बनाउनुभएकी थापाले सात वर्षअघि च्याउखेती सुरु गर्नुभएको थियो । सुरुआतमा पर्याप्त ज्ञान नहुँदा उत्पादनमा क्षति बेहोर्नुभए पनि कृषि ज्ञान केन्द्र र अन्य किसानबाट खेती गर्ने तरिका सिकेपछि उहाँ सफल हुनुभयो । अहिले उहाँले पाँचवटा फार्म सञ्चालन गर्दै सिजनअनुसार कन्ने र मिल्की च्याउ उत्पादन गरिरहनुभएको छ । यस वर्षदेखि डल्ले च्याउ उत्पादन गर्ने तयारीसमेत गर्नुभएको छ । थापाका अनुसार उहाँले वार्षिक करिब एक हजार पाँच सय किलो च्याउ बिक्री गरेर दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । खेतीबाट प्राप्त नाफा पुनः व्यवसाय विस्तारमा लगानी गर्दै आउनुभएकी उहाँले आम्दानीबाटै घरखर्च र छोराहरूको पढाइ खर्च धान्नुभएको छ । कृषि ज्ञान केन्द्रको सहयोगपछि च्याउखेतीलाई व्यवस्थित बनाउन सहज भएको उहाँको भनाइ छ । तर, बाहिरी जिल्लाबाट सस्तो मूल्यमा च्याउ आउने हुँदा स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको उहाँको गुनासो छ । उत्पादन बढाउने सम्भावना भए पनि बजारको अनिश्चितताले व्यवसाय विस्तारमा चुनौती थपेको उहाँले बताउनुभयो । स्थानीय सरकारले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै उचित बजार र मूल्यको व्यवस्था गर्नुपर्ने थापाको माग छ ।








.jpeg)


प्रतिकृया दिनुहोस