नदी नियन्त्रण तथा विपद् व्यवस्थापनमा पहिलो त्रैमासमा ३४ दशमलव ९ प्रतिशत भौतिक प्रगति

बिर्तामोड, १८ कार्तिक । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव ९ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा यस क्षेत्रका कार्यक्रम सञ्चालनका लागि पाँच अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिलो त्रैमासमा ६२ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकामा १४ करोड ७० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो त्रैमासिक खर्च लक्ष्यको २३ दशमलव ४ प्रतिशत हो ।
महाशाखा प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास गरिएको छ । खर्चको तुलनामा भौतिक प्रगति भने बढी देखिएको उहाँले बताउनुभयो ।
यस अवधिमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले त्रैमासिक भौतिक लक्ष्यको १६० दशमलव ८ प्रतिशत प्रगति गरेको छ । त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत, लमही आयोजनाले ८६ दशमलव ५ प्रतिशत, कञ्चनपुरले ८२ दशमलव ५ प्रतिशत र जनकपुर आयोजनाले ८२ दशमलव ३ प्रतिशत प्रगति हासिल गरेका छन् । नदी नियन्त्रण, तटबन्ध निर्माण तथा बाढीपहिरोलगायत जल उत्पन्न विपद्बाट जोखिममा रहेका बस्ती र खेतीयोग्य जमिनको संरक्षण गर्ने उद्देश्यले मन्त्रालयले विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस