सोल्मा अन्तर वडाकप फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई
बिर्तामोड, १८ कार्तिक ।
खोटाङको सोल्मामा आयोजित सातौँ अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिताको उपाधि खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा गए भएको फाइनलमा साकेला गाउँपालिका–५ मात्तिमलाई ३–० गोलले पराजित गर्दै इन्द्रेणीपोखरी च्याम्पियन बनेको हो ।
उपाधिसँगै इन्द्रेणीपोखरीले एक लाख २२ हजार २२२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता मात्तिमले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा सेमिफाइनल पुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नम्बर ५ लफ्याङले जनही ३३ हजार ३३३ रुपैयाँ प्राप्त गरेका छन् ।
व्यक्तिगत विधातर्फ इन्द्रेणीपोखरीका विजय राई उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले पाँच हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । उत्कृष्ट गोलरक्षक शुभराज राई, उत्कृष्ट डिफेन्डर सविन भुजेल, उत्कृष्ट प्रशिक्षक विकास राई, उदीयमान खेलाडी एञ्जल राई, उत्कृष्ट मिडफिल्डर युसन राई र सर्वाधिक गोलकर्ता साहेल राई घोषित हुनुभयो ।
कात्तिक ११ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १२ वडाको सहभागिता थियो । खेल क्षेत्रको विकास र व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले २०७० सालमा स्थापित सोल्मा स्पोर्टस् क्लबले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ ।








.jpeg)


प्रतिकृया दिनुहोस