भ्रष्टाचार मुद्दा दायर भएकै दिन माधव नेपाल दक्षिण कोरिया प्रस्थान
बिर्तामोड, १८ कार्तिक ।
तत्कालीन प्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल भ्रष्टाचार मुद्दा दायर भएकै दिन दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नेपालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर भएपछि नेपालले पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । नेकपाकी नेतृ उमा भुजेललाई पार्टी प्रवेश गराउने उक्त कार्यक्रममा उहाँ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै सहभागी हुनुभएको थियो । कार्यक्रम सकेर उहाँ दक्षिण कोरिया प्रस्थान गर्नुभएको हो ।
नेकपाका अनुसार नेपाल एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन अर्थात् आईक्यापको १३औँ महासभामा सहभागी हुन दक्षिण कोरिया जानुभएको हो । नोभेम्बर ४ देखि ७ तारिखसम्म राजधानी सोलमा हुने महासभामा ३६ देशका करिब ९० राजनीतिक दलका तीन सय प्रतिनिधि सहभागी हुँदैछन् ।
अख्तियारले मोरङको साविक विराटनगर उपमहानगरपालिका–३ स्थित रिजाल क्यानिङ एन्ड कम्पनीको नाममा रहेको सरकारी जग्गा सट्टापट्टा गरी निजी प्रयोजनमा लगाएको आरोपमा नेपालसहित ९७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
यसैबीच, महासभामा सहभागी हुन नेकपा एमालेका सचिव शेरधन राई नेतृत्वको टोली पनि सोल पुगिसकेको छ । टोलीमा एमाले नेता डा. गोपाल खनालसमेत सहभागी हुनुहुन्छ ।
आईक्याप एसियाली राजनीतिक दलहरूबीच आपसी समझदारी, सहकार्य र लोकतन्त्रको सुदृढीकरणका विषयमा छलफल गर्ने अन्तर्राष्ट्रिय मञ्च हो । यसको स्थापना सन् २००० मा फिलिपिन्सको मनिलामा भएको थियो ।०००००








.jpeg)


प्रतिकृया दिनुहोस