भोजपुरमा लोप हुँदै परम्परागत फेरी लगाउने पेसा
बिर्तामोड, २० कार्तिक ।
पुर्खौँदेखि चलिआएको परम्परागत फेरी लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुट्नुभएको छ । नयाँ पुस्ताको आकर्षण घट्दै गए पनि उहाँले दुई दशकदेखि पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएको हो ।
भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी जोगीले हरेक वर्ष कात्तिक, चैत र साउन महिनामा गाउँघर घुमेर रातको समयमा फेरी लगाउने गर्नुभएको छ । उहाँले एक महिनामा २० देखि २५ दिनसम्म गाउँबस्ती पुगेर यो परम्परा धान्दै आउनुभएको छ ।
परम्परागत मान्यताअनुसार फेरी लगाउँदा गाउँघरमा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने विश्वास गरिन्छ । फेरी लगाउन घरघर पुग्ने जोगीलाई स्थानीयवासीले चामल, धान, मकै, कोदो तथा नगद दिने परम्परा छ ।
जोगीका अनुसार कुनै समय याङपाङमा १८ देखि २० घरपरिवारले फेरी लगाउने पेसा अपनाएका थिए । तर, अहिले यो पेसा गर्नेको सङ्ख्या घटेर दुई जनामा सीमित भएको छ ।
आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण नयाँ पुस्ता परम्परागत पेसाबाट टाढिँदै गएको उहाँको भनाइ छ ।
स्थानीय मौलिक संस्कृति र पुख्र्यौली परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले आफूले फेरी लगाउने कामलाई निरन्तरता दिइरहेको जोगीले बताउनुभएको छ । परम्परागत पेसा र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तालाई यसको महत्व बुझाउन आवश्यक रहेको उहाँको भनाइ छ ।









प्रतिकृया दिनुहोस