खोटाङ जिल्ला अस्पताललाई ५० शय्याको सुविधासम्पन्न भवन हस्तान्तरण

बिर्तामोड, २० कार्तिक । 

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको सुविधासम्पन्न भवन हस्तान्तरण गरेको छ । नेपाल सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लागतमा निर्माण गरिएको चारतले अस्पताल भवन बिहीबार औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । आयोजना कार्यालयका प्रमुख इन्जिनियर सुरज पौडेलले अस्पतालका निमित्त प्रमुख डा. पुस्कल राईलाई भवन हस्तान्तरणको प्रमाणपत्र प्रदान गर्नुभयो ।
२०७८ साल असार २४ गते सम्झौता गरी ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भवन निर्माण निर्धारित समयमा पूरा हुन सकेको थिएन । सुरुमा श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले निर्माणको जिम्मा लिए पनि काम अलपत्र परेपछि जिल्लाकै निर्माण व्यवसायी सुनिल राईले जिम्मेवारी लिएर भवन निर्माण सम्पन्न गर्नुभएको हो ।
भवन हस्तान्तरणसँगै तिहारपछि ५० शय्याको सेवा सञ्चालन गर्ने तयारी गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले जानकारी दिनुभयो ।
आवश्यक उपकरण तथा सामग्री जडान गरेर विशेषज्ञ चिकित्सकसहितको सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो । सेवा सुरु भएपछि सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने र हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ छ ।
भवनको पहिलो तलामा बहिरङ्ग सेवा, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्सरे र फार्मेसी राखिएको छ । दोस्रो तलामा प्रसूति तथा प्रसूतिसम्बन्धी शल्यक्रिया सेवा, तेस्रो तलामा सघन उपचार कक्ष, आइसोलेसन र क्याबिन तथा चौथो तलामा प्रशासन, लेखा र सभाहल निर्माण गरिएको छ ।
२०४९ साल वैशाख १ गते १५ शय्याबाट सेवा सुरु गरेको जिल्ला अस्पताललाई ३३ वर्षपछि २०८२ साल असार २२ गते ५० शय्यामा स्तरोन्नति गरिएको थियो । तर, भवन निर्माण सम्पन्न नहुँदै सेवा विस्तार गरिएको भन्दै त्यतिबेला सामाजिक सञ्जालमा आलोचनासमेत भएको थियो ।
अब सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएसँगै जिल्लावासीले विशेषज्ञसहितको स्वास्थ्य सेवा आफ्नै जिल्लामा पाउने अपेक्षा गरिएको छ । 
 

प्रतिकृया दिनुहोस