मलेसियाका राजा र महान्यायाधिवक्ताबीच नजिबको माफी कार्यान्वयनमा विवाद

मलेसिया, २२ कात्तिक ।
मलेसियाका राजा सुल्तान इब्राहिमले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई दिइएको सशर्त माफी कार्यान्वयन गर्न महान्यायाधिवक्ताले ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
राजा इब्राहिमले माफी आदेशमा कुनै अस्पष्टता नरहेको स्पष्ट पार्दै त्यसका सबै सर्त पूरा भइसकेकाले आदेशमाथि प्रश्न उठाउनु राजकीय निर्णय अस्वीकार गर्नु सरह हुने बताउनुभएको छ ।
भ्रष्टाचारसम्बन्धी मुद्दामा जेलमा रहनुभएका ७३ वर्षीय नजिबलाई राजाले यसअघि सजाय कटौती गर्दै बाँकी सजाय घरमै नजरबन्दमा बिताउन पाउने सुविधा दिनुभएको थियो । त्यसका लागि उहाँले एक करोड २० लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्ने सर्त राखिएको थियो ।
तर, महान्यायाधिवक्ताको कार्यालयले माफी आदेशका सर्तबारे थप कानुनी स्पष्टता आवश्यक रहेको भन्दै गृहबन्दीमा स्थानान्तरण प्रक्रिया अस्थायी रूपमा रोकेको छ । कार्यालयले राजाको अधिकारलाई चुनौती नदिएको र आदेश कार्यान्वयनमा कानुनी द्वन्द्व हुन नदिन खोजिएको जनाएको छ ।
यसैबीच, प्रधानमन्त्रीको कार्यालयले महान्यायाधिवक्ताले छलफलका लागि राजासँग भेटघाटको समय मागेको जनाएको छ ।
वन मलेसिया डेभलपमेन्ट बेरहाद अर्थात् वान एमडीबी कोषमा भएको अर्बौँ डलरको भ्रष्टाचार प्रकरणमा नजिब दोषी ठहर हुनुभएको थियो । उहाँलाई पहिलो मुद्दामा १२ वर्ष र अर्को मुद्दामा थप १५ वर्ष जेल सजाय सुनाइएको छ । पछिल्लो सजायविरुद्ध उहाँले अदालतमा पुनरावेदन गरिरहनुभएको छ । ०००००
 

प्रतिकृया दिनुहोस