चीनको अन्तरिक्ष सैन्य क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

हङकङ, २३ कात्तिक ।
चीनले अन्तरिक्ष क्षेत्रमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गर्दै अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) को प्रतिवेदनले जनाएको छ ।
अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनमा चीन, रुस, इरान र उत्तर कोरियालाई अमेरिकी अन्तरिक्ष सुरक्षाका प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ । विशेषगरी चीन र रुसले उपग्रह प्रणाली अवरुद्ध गर्ने, क्षति पु¥याउने तथा नष्ट गर्न सक्ने प्रविधि विकास गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार चीनले सन् २०१६ मा २२ वटा अन्तरिक्ष प्रक्षेपण गरेकामा सन् २०२५ मा ९३ वटा गरेको थियो । त्यस्तै, सन् २०१६ मा ४० वटा उपग्रह प्रक्षेपण गरेको चीनले गत वर्ष ३८४ वटा प्रक्षेपण गरेको थियो ।
सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमनसम्बन्धी उपग्रह रहेको प्रतिवेदनमा जनाइएको छ । ती उपग्रहबाट प्राप्त सूचनाले सैन्य गतिविधिको निगरानी, हतियारको लक्ष्य निर्धारण, मौसम पूर्वानुमान र सञ्चारमा सहयोग पु¥याउन सक्छन् ।
चिनियाँ उपग्रह प्रणालीले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी तथा सहयोगी सेनाको गतिविधि र विमानवाहक युद्धपोतको अवस्थिति पहिचान गर्न सक्ने प्रतिवेदनको आँकलन छ । चीनले ठूलो सङ्ख्यामा उपग्रहको सञ्जाल विस्तार गर्दै विश्वका विभिन्न स्थानका तस्बिर ३० मिनेटभित्र प्राप्त गर्न सक्ने क्षमता विकास गरिरहेको पनि उल्लेख गरिएको छ ।
त्यस्तै, चीनले उपग्रह नष्ट गर्न सक्ने भूमिमा आधारित क्षेप्यास्त्र, जामिङ, साइबर आक्रमण र शक्तिशाली लेजर प्रविधि विकास गरिरहेको प्रतिवेदनमा उल्लेख छ । चीनले सन् २००७ मा क्षेप्यास्त्र प्रहार गरी आफ्नै मौसम उपग्रह नष्ट गरेको थियो ।
चीनको बेइडोउ नेभिगेसन प्रणालीमा ४९ वटा उपग्रह रहेको र यसका दुई अर्बभन्दा बढी प्रयोगकर्ता रहेको प्रतिवेदनमा जनाइएको छ । यस प्रणालीलाई चिनियाँ सेनाले निर्देशित हतियारको लक्ष्य निर्धारणमा समेत प्रयोग गर्ने गरेको छ ।
चीनले अफ्रिका, एसिया र ल्याटिन अमेरिकी मुलुकसँग उपग्रह निर्माण, प्रक्षेपण तथा प्रविधि हस्तान्तरणमार्फत अन्तरिक्ष सहकार्य विस्तार गरिरहेको छ । चीनमा चार सयभन्दा बढी व्यावसायिक अन्तरिक्ष कम्पनी सञ्चालनमा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
ताइवानलाई लिएर क्षेत्रीय द्वन्द्व उत्पन्न भएमा अमेरिकी हस्तक्षेप रोक्न चीनले अन्तरिक्षसम्बन्धी सैन्य क्षमता प्रयोग गर्न सक्ने डिआइएको आँकलन छ । चीनले आफ्ना उपग्रहमार्फत अन्य देशका अन्तरिक्षयानको निगरानी र गतिविधिमा हस्तक्षेप गर्न सक्ने क्षमता पनि विस्तार गरिरहेको प्रतिवेदनमा उल्लेख छ । 
प्रतिवेदनले रुसले युक्रेन युद्धका क्रममा व्यावसायिक उपग्रह तथा सञ्चार प्रणालीलाई निशाना बनाएको र चीनले रुसी सैन्य कारबाहीलाई आवश्यक अन्तरिक्षसम्बन्धी सहयोग बढाउँदै लगेको पनि जनाएको छ ।
आगामी दशकमा चीन र रुसले पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष प्रणाली तथा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रविधि विकास गरे अन्तरिक्ष सुरक्षा चुनौती थप जटिल बन्न सक्ने अमेरिकी रक्षा गुप्तचर निकायको चेतावनी छ । ०००००
 

प्रतिकृया दिनुहोस