‘प्रिय कर्णाली’मा सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
ललितपुर, २३ कात्तिक ।
उपप्राध्यापक तथा पत्रकार राजेन्द्रप्रसाद धितालको कविता सङ्ग्रह ‘प्रिय कर्णाली’माथि काठमाडौँमा विचारविमर्श गरिएको छ । इन्स्टिच्युट अफ लिबरल आर्टस् एण्ड मिडियाको आयोजनामा भएको कार्यक्रममा साहित्यकार तथा समीक्षकहरूले सङ्ग्रहका कवितामार्फत कर्णालीको सभ्यता, पहिचान, संस्कृति र सामाजिक रूपान्तरणका विषय उजागर गरिएको बताएका छन् ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी पूर्वशिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले सङ्ग्रहमा प्रकृति, सामाजिक यथार्थ, राजनीतिक चेतना, वर्गीय विभेद र रूपान्तरणका विविध आयाम समेटिएको बताउनुभयो। कवितामा प्रकृतिलाई जीवन र समाजको केन्द्रका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै उहाँले बिम्ब र प्रतीकको प्रयोगले थोरै शब्दमा गहिरो भाव व्यक्त गर्न सकिने धारणा राख्नुभयो ।
अग्रज पत्रकार तथा लेखक धर्मेन्द्र झा (कवि धर्मेन्द्र विह्वल) ले सङ्ग्रहले कर्णालीको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँगै त्यहाँका नागरिकले भोग्दै आएका पीडा र सङ्घर्षलाई अभिव्यक्त गरेको बताउनुभयो। कर्णालीप्रतिको प्रेम र अपनत्व कवितामा सशक्त रूपमा आएको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनपछि पनि पूरा हुन नसकेका अपेक्षा र सहिदका सपनासमेत कवितामा प्रतिबिम्बित भएको बताउनुभयो ।
लेखक तथा प्राज्ञ डा. मधुसूदन गिरीले कर्णाली केवल भौगोलिक क्षेत्र नभई प्राचीन सभ्यता, इतिहास र संस्कृतिको महत्वपूर्ण स्रोत भएको बताउनुभयो । विगतमा तिब्बत र मध्यभारतबीचको व्यापारिक मार्गका रूपमा रहेको कर्णालीको इतिहास, भाषा, लोकसंस्कृति तथा मूर्त र अमूर्त सम्पदाको थप अध्ययन आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा उमाकान्त अधिकारीले सर्जक धितालको साहित्यिक चेतना, दार्शनिक पक्ष र जन्मभूमिप्रतिको स्नेहबारे चर्चा गर्नुभयो । कर्णालीको सांस्कृतिक, सामाजिक तथा भाषिक इतिहास अभिलेखीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा कवि नरेन्द्र आचार्य, इन्दिरा शाह, चन्द्रप्रकाश बडुवाल, योगेन्द्र शाही र भीमबहादुर भारतीलगायतले कविता वाचन गर्नुभएको थियो ।
कविता सङ्ग्रहका सर्जक धितालले माक्र्सवादी विचारप्रतिको सम्मान र सामाजिक चेतनालाई आफ्ना सिर्जनामा अभिव्यक्त गरेको बताउनुभयो । सहभागी साहित्यकारहरूले ‘प्रिय कर्णाली’ले कर्णालीको मौलिक पहिचान, ऐतिहासिक गौरव र जनजीवनलाई साहित्यिक विमर्शमा स्थापित गर्न योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो । ०००००










प्रतिकृया दिनुहोस