पर्यटनको नयाँ गन्तव्य बन्दै बाँके राष्ट्रिय निकुञ्ज, जङ्गल सफारीमा पर्यटकको आकर्षण 

राँझा (बाँके), ४ मंसिर ।
नेपालगञ्जबाट करिब आधा घण्टाको दूरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
वन्यजन्तु अवलोकन, जङ्गल सफारी र प्राकृतिक सौन्दर्यका कारण निकुञ्जमा पर्यटकको आकर्षण बढ्न थालेको हो । वर्षायाममा बन्द रहेको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै हिउँदे पर्यटनको चहलपहल पनि सुरु भएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले पश्चिम नेपालको पर्यटन प्रवद्र्धनका लागि बाँके राष्ट्रिय निकुञ्ज नयाँ ब्राण्ड बन्न सक्ने बताउनुभएको छ । उहाँले नजिकै रहेको प्राकृतिक सम्पदाको प्रचार र प्रवद्र्धन गर्न सके पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा पनि टेवा पुग्ने उल्लेख गर्नुभएको छ ।
निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि नेपालगञ्ज र कोहलपुरका तारे होटलले भारतीयसहित आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी विशेष सफारी प्याकेज बनाउने तयारी गरेका छन् । होटल, निकुञ्ज प्रशासन र स्थानीय होमस्टेको सहकार्यमा यातायात, गाइड, प्रवेश शुल्क, जिप सफारी र स्थानीय खानपानसहितको एकीकृत प्याकेज निर्माण गर्न लागिएको नेपाल पर्यटन बोर्डका नेपालगञ्ज अध्यक्ष डिल्ली रेग्मीले बताउनुभएको छ ।
यसैबीच पर्यटक आकर्षित गर्न निकुञ्ज र स्थानीय पर्यटन व्यवसायीले एक हजार रुपैयाँको विशेष सफारी प्याकेजसमेत ल्याएका छन् । गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीका अनुसार कम खर्चमै जङ्गल सफारी र वन्यजन्तु अवलोकन गर्न पाइने भएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ ।
निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा एक हजार चार सय ६६ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ६ सय २० र २०८०÷८१ मा ४ सय ४४ थियो ।
यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या पनि दोब्बरभन्दा बढी पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अनुसार निकुञ्जमा बाघको सङ्ख्या २५ बाट बढेर ५१ पुगेको हो । सन् २०१३ मा चार र २०१८ मा २१ बाघ रहेको निकुञ्जमा संरक्षणका प्रयास र आहार प्रजातिका लागि घाँसे मैदान व्यवस्थापनले सङ्ख्या बढाउन सहयोग पुगेको निकुञ्ज प्रशासनले जनाएको छ ।
तर बाघको सङ्ख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । चोरीसिकार नियन्त्रण, वन्यजन्तुको बासस्थान संरक्षण र मानवीय क्षति न्यूनीकरणका लागि निरन्तर काम भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस