डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामा
काठमाडौं, ४ मंसिर ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल सुरक्षा, साक्षरता अभिवृद्धि तथा गलत सूचना र दुष्प्रचार नियन्त्रण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)का प्रतिनिधिसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले सुरक्षित र समावेशी डिजिटल समाज निर्माणका लागि सरकारले दीर्घकालीन सोचसहित काम गरिरहेको बताउनुभएको हो ।
भेटमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले कोशी र मधेस प्रदेशमा डिजिटल साक्षरता अभिवृद्धि, स्थानीय तहको क्षमता विकास तथा डिजिटल माध्यमबाट सूचना प्रवाह र नागरिकको सहभागिता बढाउने कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए ।
उनीहरूले प्रदेश तथा स्थानीय तहमा डिजिटल र मिडिया साक्षरता विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । गलत सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति तथा भ्रामक सामग्री पहिचान गर्ने र तथ्य जाँच गर्ने क्षमता विकासमा सहकार्य गर्न सकिने धारणा पनि राखेका थिए ।
जवाफमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल सुरक्षालाई सामान्य साक्षरता अभियानमा मात्र सीमित गर्न नहुने बताउनुभयो । उहाँले सूचना प्रमाणीकरण, व्यक्तिगत गोपनीयताको संरक्षण, बालबालिका तथा महिलाको डिजिटल सुरक्षा र गलत सूचना पहिचान गर्ने राष्ट्रिय क्षमता विकास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिने क्रम बढिरहेको भन्दै उहाँले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी नीति, कानुनी व्यवस्था र सम्बन्धित निकायको क्षमता अभिवृद्धिमा जोड दिनुभयो ।
नेपालको विद्यालय पाठ्यक्रममा डिजिटल साक्षरता समावेश गर्ने, समुदायस्तरमा सूचना तथा सञ्चारसम्बन्धी चेतना बढाउने र डिजिटल माध्यमको सुरक्षित प्रयोगका लागि संस्थागत क्षमता विकास गर्ने विषयमा पनि छलफल भएको थियो ।
भेटका क्रममा संयुक्त राष्ट्रसङ्घीय साइबर अपराधसम्बन्धी महासन्धिको कार्यान्वयनका विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री तिमिल्सिनाले सूचना प्रवाह, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताबीच सन्तुलन कायम गर्दै डिजिटल समाजलाई सुरक्षित र नागरिकमैत्री बनाउन अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ०००००











प्रतिकृया दिनुहोस