आज विश्व टेलिभिजन दिवस : टेलिभिजनको सामाजिक र शैक्षिक भूमिकाबारे चर्चा गरिँदै
विर्तामोड, ५ मंसिर ।
आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्व, सूचना तथा सञ्चार क्षेत्रमा यसको योगदान र समाजमा पार्ने प्रभावबारे सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघले सन् १९९६ मा नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गरेको थियो। सोही वर्ष पहिलो विश्व टेलिभिजन फोरम आयोजना भएको थियो । उक्त फोरममा टेलिभिजनको प्रभाव, सार्वजनिक चेतना र विश्वव्यापी विकासमा यसको भूमिकाबारे छलफल गरिएको थियो ।
टेलिभिजन सूचना, शिक्षा र मनोरञ्जनको प्रभावशाली माध्यमका रूपमा स्थापित छ । यसले विश्वका घटनाक्रम, सामाजिक विषय, संस्कृति र विभिन्न विचारलाई आम नागरिकसम्म पु¥याउँदै आएको छ । शैक्षिक कार्यक्रमले बालबालिकाको सिकाइमा सहयोग पु¥याउने, वृत्तचित्रले विश्वका विविध विषय बुझ्न मद्दत गर्ने तथा समाचारले राजनीति, स्वास्थ्य र अर्थतन्त्रका महत्वपूर्ण जानकारी उपलब्ध गराउने काम गर्दै आएका छन् ।
पछिल्लो समय डिजिटल प्रविधिको विकाससँगै टेलिभिजनको स्वरूप पनि परिवर्तन हुँदै गएको छ । अनलाइन प्रसारण, स्ट्रिमिङ प्लेटफर्म र स्मार्ट टेलिभिजनका कारण दर्शकले आफूले चाहेको सामग्री जुनसुकै समयमा हेर्न सक्ने भएका छन् । तर, यससँगै गलत सूचना र पूर्वाग्रही सामग्रीको जोखिमसमेत बढेको छ ।
यस दिवसले तथ्यपरक, निष्पक्ष र जिम्मेवार सञ्चार सामग्रीको महत्व स्मरण गराउँदै सचेत दर्शक बन्न प्रेरित गरेको छ । स्रोतको विश्वसनीयता जाँच्ने, ज्ञान र चेतना अभिवृद्धि गर्ने कार्यक्रम छनोट गर्ने तथा हेरेका विषयमा छलफल गर्ने बानी विकास गर्न पनि दिवसले सन्देश दिएको छ ।
टेलिभिजनलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी शिक्षा, सूचना, सामाजिक चेतना र ज्ञान विस्तारको माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । ०००००











प्रतिकृया दिनुहोस