गोसाइँकुण्ड बाह्रै महिना पर्यटकको आकर्षण बन्दै

बिर्तामोड, ६ मंसिर । 
रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणको आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा पछिल्लो समय वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् ।
सडक सञ्जालको विस्तार र पदमार्गमा होटल तथा लजको सुविधा थपिएपछि यहाँको यात्रा सहज बनेको हो । काठमाडौँबाट धुन्चेसम्म सवारीसाधनमा पुगेर दुई दिनको पैदलयात्रामा गोसाइँकुण्ड पुग्न सकिन्छ ।
स्थानीय होटल व्यवसायीका अनुसार सामान्य अवस्थामा दैनिक करिब एक सय पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । गत भदौ १० गतेको बाढीले पदमार्ग र संरचनामा क्षति पु¥याउँदा केही समय पर्यटन प्रभावित भए पनि अहिले आगमन सामान्य बन्दै गएको छ । गोसाइँकुण्ड धार्मिक आस्थाका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । समुद्रमन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि भगवान् शिवले त्रिशूल प्रहार गरी जल उत्पन्न गराएको र त्यही जलबाट कुण्ड बनेको धार्मिक विश्वास छ । यहाँ स्नान र पूजाआराधना गर्दा रोगव्याधि हट्ने तथा सुखशान्ति प्राप्त हुने जनविश्वास छ ।
गोसाइँकुण्डको ऐतिहासिक महत्त्व पनि छ । नेपाल–अङ्ग्रेज युद्धपछि भएको सुगौली सन्धिबाट असन्तुष्ट राष्ट्रिय विभूति अमरसिंह थापाले यही क्षेत्रमा अन्तिम समय बिताएको इतिहास रहेको स्थानीय पुरोहितले बताएका छन् ।
प्रत्येक वर्ष १० हजारभन्दा बढी भक्तजन तथा पदयात्रीले गोसाइँकुण्ड क्षेत्रको भ्रमण गर्ने गरेका छन् । धार्मिक आस्था, हिमाली प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्वले यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ ।
यद्यपि, लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा अक्सिजनको मात्रा कम हुने भएकाले लेक लाग्ने जोखिम छ । त्यसैले पर्याप्त पानी पिउन, आवश्यक औषधि साथमा राख्न र स्वास्थ्य अवस्थालाई ध्यान दिएर यात्रा गर्न स्थानीयवासीले सुझाव दिएका छन् । 

प्रतिकृया दिनुहोस