सन्तोषी श्रेष्ठलाई माल्दिभ्समा दुई स्वर्ण

बिर्तामोड, ६ मंसिर । 

नेपाली धाविका सन्तोषी श्रेष्ठले माल्दिभ्समा सम्पन्न १७औँ धिरागु रोड रेस २०२६ मा कोर्स रेकर्डसहित दुई स्वर्ण पदक जित्नुभएको छ । हुलुमालेस्थित सेन्ट्रल पार्कमा आयोजित प्रतियोगितामा सन्तोषीले महिला हाफ म्याराथन र पाँच किलोमिटर दौडमा स्वर्ण जित्नुभएको हो । उहाँले हाफ म्याराथनको दूरी एक घण्टा २६ मिनेट ३९ सेकेन्डमा पूरा गर्नुभयो । यस विधामा माल्दिभ्सकी आइसाथ जिनानी इब्राहिमले रजत र फाथिमथ सिजाले कांस्य पदक जित्नुभयो । दुई विधामा स्वर्ण जितेसँगै सन्तोषीले करिब दुई हजार तीन सय अमेरिकी डलर नगद पुरस्कारसमेत प्राप्त गर्नुभएको छ ।
पुरुष हाफ म्याराथनमा नेपालका सन्तोषविक्रम विष्ट भने एक सेकेन्डले पछि पर्दै रजत पदकमा सीमित हुनुभयो । विश्व एथलेटिक्सबाट मान्यताप्राप्त प्रतियोगितामा विभिन्न देशका पाँच हजार पाँच सय धावक सहभागी थिए ।

प्रतिकृया दिनुहोस