इलामका तल्लो क्षेत्रमा धान काट्ने चटारो
बिर्तामोड, ३० कार्तिक ।
इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै किसान पाकेको धान काट्न र भित्र्याउन व्यस्त भएका छन् ।
यस वर्ष समयमा वर्षा हुनुका साथै धान भित्र्याउने समयमा मौसमले साथ दिएपछि किसान उत्साहित भएका छन् । माङसेबुङ, चुलाचुली, माई र रोङ गाउँपालिकाका तल्लो क्षेत्रमा धान पाकेर खेत पहेँलपुर भएका छन् ।
माङसेबुङ–३ रतुवाबेँसीका किसान देउकुमार इधिङ्गोले यस वर्ष ४० रोपनीमा धानखेती गर्नुभएको छ । चरा र मुसाले क्षति पु¥याउन सक्ने भएकाले धान काट्ने र थन्क्याउने काममा ढिलाइ गर्न नहुने उहाँले बताउनुभयो ।
किसानहरू धान काट्ने, सुकाउने, बिटा उठाउने र भित्र्याउने काममा व्यस्त छन् । परिवारका सबै सदस्य धान थन्क्याउन जुटेका छन् ।
इलाममा ११ हजार ६२ दशमलव ६४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ सावित्री, रञ्जितजस्ता उन्नत जातका साथै चिराखे, भँगेरे, चुल्ठे र मन्सुलीजस्ता रैथाने जातका धानखेती गरिन्छ ।
धान भित्र्याएपछि किसानले तोरी, फापर, आलु, गहुँ, मकै तथा तरकारी खेती लगाउने तयारी गरेका छन् ।











प्रतिकृया दिनुहोस