कन्याममा घोडचढी व्यवसायबाट किसानको आम्दानी बढ्दै

इलाम, ७ मङ्सिर । 
इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्यामका किसान पछिल्लो समय घोडचढी व्यवसायबाट राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत खेतीपातीसँगै पर्यटकलाई घोडा चढाएर घुमाउने व्यवसाय उनीहरूको आम्दानीको मुख्य स्रोत बन्दै गएको छ ।
कन्यामका सोमबहादुर तामाङको दैनिकी बिहान घोडालाई दानापानी खुवाउने र स्याहारसुसार गर्नेबाट सुरु हुन्छ । त्यसपछि घोडा लिएर पर्यटकीय क्षेत्रमा पुग्ने उहाँले दिनभर पर्यटकलाई घोडा चढाएर घुमाउने गर्नु भएको छ ।
उहाँले घोडचढी व्यवसायबाट दैनिक औसत तीन हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । घोडाको दानापानीमा दैनिक एक हजार रुपैयाँ खर्च हुने उहाँले बताउनुभयो । पर्यटकलाई प्याकेजमा घुमाउने अवसर पाउँदा भने पाँच हजार रुपैयाँसम्म कमाइ हुने गरेको छ ।
सोमबहादुरजस्तै कन्यामका ३९ किसान घोडापालन तथा घोडचढी व्यवसायमा संलग्न छन् । चियाबारीमा घोडा चढ्ने, फोटो खिच्ने र भिडियो बनाउने पर्यटकको आकर्षण बढेसँगै यो व्यवसाय पनि फस्टाउँदै गएको छ ।
व्यवसायलाई व्यवस्थित बनाउन घोडचढी व्यवसायी सङ्घ गठन गरी दूरीअनुसार शुल्क निर्धारण गरिएको छ । सङ्घका कोषाध्यक्ष डिकबहादुर तामाङका अनुसार घोडामा फोटो खिचेको ५० रुपैयाँ, १० मिनेट घुमेको एक सय रुपैयाँ र स्पोर्ट राउन्डको तीन सय रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै, हरियाली चियाबगान घुमेको ६ सय रुपैयाँ र कन्यामका विभिन्न क्षेत्र समेटिएका प्याकेजका लागि दुई हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ ।
सङ्घका अध्यक्ष प्रेमलाल ग्याबाले घोडचढी व्यवसाय जीविकोपार्जनको सहज माध्यम बनेको बताउनुभयो ।
कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कन्याममा असोजदेखि जेठसम्म पर्यटकको चाप बढी हुने गरेको छ । चियाबारीको हरियाली, वनभोज र घोडचढीको आकर्षणले यहाँ दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । ००००००

प्रतिकृया दिनुहोस