दुहबीमा ५६ करोडको फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने 

विराटनगर, ७ मङ्सिर । 
कोशी प्रदेशको सुनसरीस्थित दुहबी नगरपालिकामा ५६ करोड रुपैयाँ लागतको फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने भएको छ ।
कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा भएको प्रतिबद्धता अनुसार परियोजना अघि बढाउन रिभाइभ इन्फ्रा टेक एन्ड इन्भेस्टमेन्ट लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा सोमबार समझदारी भएको हो । परियोजना सञ्चालनमा आएपछि सुनसरी र मोरङका विभिन्न स्थानीय तहको फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैबीच, कोशी प्रदेश सरकार र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सार्वजनिक–निजी साझेदारीका पूर्वाधार परियोजनामा लगानी तथा वित्तीय सहजीकरण गर्ने विषयमा पनि समझदारी भएको छ ।
प्रदेश सरकारले २०८१ वैशाखमा आयोजना गरेको लगानी सम्मेलनमा ५१ परियोजनाका लागि एक खर्ब ५६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो । तीमध्ये हालसम्म पाँच परियोजनाको परियोजना विकास सम्झौता भइसकेको र थप १२ वटा सम्झौताको चरणमा रहेको लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिनुभयो ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्कीले नीतिगत तथा कानुनी सुधारमार्फत प्रदेशमा लगानीमैत्री वातावरण निर्माण भइरहेको बताउनुभयो । उहाँले जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष महेशप्रसाद दाहालले प्रदेशको पूर्वाधार विकासमा साझेदारी गर्न बैंक तयार रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग सञ्चालनका लागि जग्गा प्राप्ति सहज बनाउन सरकारसँग आग्रह गर्नुभयो ।
दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदारले परियोजना सञ्चालन भएपछि नगरवासी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । ००००००
 

प्रतिकृया दिनुहोस